
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-१ मा मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । मन्दिर लाइनस्थित कृष्ण थापाको घरमा भाडामा सञ्चालन हुँदै आएको मोटरसाइकल ग्यारेजमा गएराति आगलागी भएको हो ।
पथरीशनिश्चरे-२ का खिलबहादुर परियारले सञ्चालन गर्दै आएको ग्यारेजका २ सटर कोठामा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा करिब राति ११ बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो । आगो निभाउने क्रममा ग्यारेज सञ्चालक परियार घाइते भएका छन् । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
आगलागीबाट ग्यारेजभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 


















