
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ थुम्कीस्थित निर्माणाधीन भेडेटार-रवि-राँके सडक खण्ड पुनः अवरुद्ध भएको छ । शनिबार अपराह्न सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पानी परेपछि सडक माथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोका कारण भेडेटारबाट डाँडाबजारतर्फ जाँदै गरेको को १ क ३३०९ नम्बरको मिनी ट्रक सडकको बीच भागमा फसेको थियो । उक्त ट्रकलाई निकालिसकिएको प्रहरीले जनाएको छ ।
अहिले सडक खुलाउने प्रयास भइरहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । ‘जेसिबीको सहायताले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ’, उनले भने, ‘अहिले सडक अवरुद्ध छ ।’
प्रहरीका अनुसार पुनः पहिरो नझरेमा आजै सडक सञ्चालनमा आउने सम्भावना छ । केहीदिन पहिले पनि नाम्जेमा सुख्खा पहिरो खस्दा झण्डै एक साता सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि यात्रुहरूले वैकल्पिक मार्गको प्रयोग गरेर आवत-जावत गरिरहेका छन् ।

संगालोखबर 

















