
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ गोठगाउँमा गम्भीर घाइते अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । शरीरको विभिन्न भागमा चोटपटक लागेको अवस्थामा फेला परेका बेलबारी नगरपालिका-९ का ३२ वर्षीय पंकज साहको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी लिलाराज लामिछानेका अनुसार साह आज बिहान करिब ६ः१५ बजे गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।
दायाँतर्फको पूरै भाग, टाउको र अनुहारलगायत शरीरभरि चोटपटक रहेको र सडकमा लडिरहेको अवस्थामा साहलाई फेला पारिएको डीएसपी लामिछानेले जानकारी दिए । उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट साह बिहीबार साँझ घरबाट को ३० प ६५३१ नम्बरको मोटरसाइकल लिएर निस्किएको खुलेको छ । उनी घाइते अवस्थामा फेला परेको स्थान नजिकै मोटरसाइकल राखिएको थियो ।
प्रहरीका अनुसार साहलाई कुनै सवारी–साधनले ठक्कर दिएको हुनसक्ने अनुमान गरिएको छ । उनको मृत्युको कारण खुल्न बाँकी छ । घटनाका सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 

















