
धनकुटा । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिशा विकमाथि भएको बलात्कारपछिको हत्या घटनाप्रति धनकुटाका विभिन्न संघ-संस्थाहरूले कडा विरोध जनाएका छन् ।
बुधबार जिल्लाका करिब १० भन्दा बढी संघ-संस्थाहरूले प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई भेटेर प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
उक्त ज्ञापनपत्रमा सुर्खेतको घटनालाई अमानवीय र जघन्य अपराधको संज्ञा दिँदै दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन र कानुनी दायरामा ल्याउन निष्पक्ष, पारदर्शी एवं गम्भीर अनुसन्धानको माग गरिएको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा प्रतिनिधिहरूले अभियुक्तलाई राजनीतिक वा अन्य कुनै पनि प्रभावका आधारमा जोगाउने प्रयास नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले अभियुक्तको उमेर घटाउने वा प्रमाण कमजोर पार्ने जस्ता काम भएमा कडा कारबाही गर्न समेत जोड दिएका छन् ।
पीडित परिवारलाई न्याय, सुरक्षा र आवश्यक सहयोग सुनिश्चित गर्न सरकारसँग आग्रह गर्दै दलित विकास केन्द्रका अध्यक्ष गोपाल विश्वकर्माले न्याय प्रणालीप्रति जनविश्वास कायम राख्न राज्यका निकायहरूले संवेदनशीलता र कडाइका साथ कदम चाल्नुपर्ने बताए ।
दलित विकास केन्द्र, नेपाल दलित महिला संघ धनकुटा, धनकुटा लेडिज जेसीज, महिला अधिकारका लागि राष्ट्रिय अभियान, फिटनेस जोन, दलित एकता समाज, नमस्ते नेपाल, अनेमसंघ धनकुटा नगर कमिटी, परियार सेवा समाज र महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल धनकुटा लगायतका संघ-संस्थाका प्रतिनिधिहरूले ज्ञापन पत्र बुझाएका हुन् ।

संगालोखबर 

















