
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा नगर प्रमुख र उपप्रमुख पक्षबीच विवाद देखिएको छ । आज आयोजना गरिएको १७ औँ नगरसभामा नगर प्रमुख ज्ञान बहादुर गुरुङले विधि र प्रक्रिया मिचेर एकलौटी ढङ्गले सभा सञ्चालन गरेको भन्दै उपप्रमुख नम्रता गौतम देउजासहित ३१ जना जनप्रतिनिधिहरूले बहिष्कार गरेका हुन् ।
उपप्रमुख देउजाद्वारा जारी गरिएको विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को बर्खिलाप हुने गरी नगर प्रमुख अगाडि बढेको आरोप लगाइएको छ । विज्ञप्ति अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित योजनाहरूको संशोधन र बजेटको शीर्षक परिवर्तन गर्दा १० वटै वडा समिति र विषयगत शाखाको बैठक बसी कार्यपालिकाबाट अनुमोदन हुनुपर्ने कानूनी व्यवस्था छ ।
तर ती प्रक्रियाहरू पुरा नगरी नगर प्रमुखले एकलौटी ढंगले नगरसभाका सदस्यहरूलाई पत्राचार गरेको र बहुमत सदस्यहरूको उपस्थितिलाई उपेक्षा गरेको असन्तुष्ट पक्षको दाबी छ ।
उपप्रमुखसहित ३१ जना जनप्रतिनिधिहरूले नगर प्रमुखसँग विधिसम्मत ढङ्गबाट कार्यपालिकाको बैठक बसी योजना बाँडफाँड र संशोधन गरेर मात्र सभा सञ्चालन गर्न माग गरेका थिए । तर सो मागको सुनुवाइ हुनुको साटो उपस्थित भएका बहुमत सदस्यहरूलाई सभा हलमा समेत नबोलाई नगर प्रमुखले सभा सम्पन्न भएको जानकारी गराएपछि विवाद थप चर्किएको हो ।
असन्तुष्ट पक्षले करिब १ घण्टाको छोटो अवधिमै नीति तथा कार्यक्रम कार्यान्वयनको प्रयास गरिएको र छलफलका लागि समय माग्दासमेत उपलब्ध नगराइएको भन्दै घोर आपत्ति प्रकट गरेका छन् ।
जनताको अमूल्य मतबाट निर्वाचित भएका आफूहरूले विधिसम्मत र कानून सम्मत ढङ्गले अगाडि बढ्नुपर्ने अडान राख्दा पनि बेवास्ता गरिएको विज्ञप्तिमा उल्लेख छ । आगामी दिनमा स्थानीय सरकार सञ्चालन ऐनलाई नमानी एकलौटी ढङ्गले अगाडि बढेमा नगरवासीको साथ लिएर विधि र नीति सम्मत ढंगले अगाडि बढ्ने चेतावनी समेत दिइएको छ ।
नगरप्रमुख गुरुङले १२ जना करारका शिक्षक हटाएपछि उपप्रमुखसहितको टोली असन्तुष्ट रहेको प्रतिक्रिया दिए । उनले अख्तियारबाट पत्र आएपछि १२ जना शिक्षकलाई हटाएको बताए ।
‘चुनाव अगाडि ३ पटक कार्यपालिका बैठक राख्दा सबै ठीकै थियो’, उनले भने, ‘हामीले कानुन अनुसार गर्ने हो । उहाँहरूलाई छलफलमा बस्न आग्रह गर्दा पनि आजको नगरसभा बहिष्कार गर्नुभयो । अरु त्यस्तो केही कारण छैन ।’ यस विषयमा थप बुझ्न उपप्रमुख गौतमलाई सम्पर्क गर्दा उनको मोवाइल अफ थियो ।

संगालोखबर 















