संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ संशोधन गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्को कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित सो ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीले बैठकका निर्णयहरू बारे जानकारी गराउँदै उक्त विधेयकलाई प्रदेश सभामा लैजान स्वीकृति प्रदान गरिएको बताए ।

बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाटै परिमार्जित ‘कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता (दोस्रो संशोधन) नियमावली, २०८२’ लाई समेत स्वीकृत गरेको छ ।

यसैगरी आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जित ‘आयोजना छनोट तथा वर्गीकरण र आयोजना बैंक व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८२’ लाई पनि बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ । यस कार्यविधिबाट प्रदेशका योजनाहरुको छनोट र व्यवस्थापनमा थप सहजता र प्रभावकारिता आउने अपेक्षा गरिएको प्रवक्ता पराजुलीले बताए ।

बैठकले हङकङमा रहेका गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् र नेपाली महिला संघको संयुक्त आयोजनामा आगामी २९ मार्च २०२६ मा आयोजना हुने ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रममा सहभागी हुन भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङको भ्रमणलाई पनि स्वीकृति दिएको छ ।

उक्त भ्रमणको सम्पूर्ण दैनिक तथा भ्रमण खर्च आयोजक स्वयंले व्यहोर्ने गरी सो निर्णय गरिएको प्रवक्ता पराजुलीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!