
विराटनगर । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूमध्ये ८१.६० प्रतिशतको जमानत जफत भएको छ ।
विभिन्न राजनीतिक दल र स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ४ सय ९५ जनामध्ये ३ सय ९९ जनाको जमानत जफत भएको हो । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कुल उम्मेदवारमध्ये ९६ जनाको मात्रै धरौटी जोगिएको छ । जुन कुल उम्मेदवार संख्याको १८.४० प्रतिशत मात्र हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को व्यवस्थाअनुसार सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ । सोही कानुनी व्यवस्थाका कारण स्वतन्त्र र साना दलका मात्र नभई कतिपय निर्वाचन क्षेत्रमा ठूला दलका उम्मेदवारले समेत जमानत जोगाउन सकेनन् ।
कोशीका १४ जिल्लाका २८ वटा निर्वाचन क्षेत्र छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा १ सय १० जना उम्मेदवारमध्ये ९१ जनाको जमानत जफत भएको छ । मोरङ-१ मा १३, २ मा १४, ३ मा १५, ४ मा १६, ५ मा १८ र ६ मा १५ जना उम्मेदवार धरौटी जोगाउन असफल भएका छन् ।
५ निर्वाचन क्षेत्र रहेको झापामा ९० उम्मेदवारमध्ये १२ जनाले मात्र जमानत जोगाएका छन् । झापा-१ मा १२, २ मा १६, ३ मा १५, ४ मा १३ र ५ मा २२ जनाको जमानत जफत भएको छ ।
४ निर्वाचन क्षेत्र रहेको सुनसरीमा १ सय १० उम्मेदवारमध्ये १० जनाको मात्रै जमानत जोगिएको छ । सुनसरी-१ मा २४, २ मा २६, ३ मा २० र ४ मा ३० जनाको जमानत जफत भएको छ ।
इलामका २ क्षेत्रमा १८ जनाको जमानत जफत भएको छ । क्षेत्र नम्बर १ का ८ र २ का १० जना उम्मेदवारको जमानत जफत भएको कार्यालयले जनाएको छ ।
उदयपुरका २ क्षेत्रमा २१ जनाको जमानत जफत भएको छ । उदयपुर-१ म १३ र २ मा ८ जनाको जमानत जफत भएको हो ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेका ताप्लेजुङ, पाँचथर, धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा कुल १ सय २७ उम्मेदवारमध्ये ९१ जनाले जमानत जफत भएको छ ।
ताप्लेजुङमा ९, पाँचथरमा ११, धनकुटामा १३, संखुवासभामा १२, तेह्रथुममा ८, भोजपुरमा ७, खोटाङमा ११, ओखलढुंगामा ११ र सोलुखुम्बुमा ९ जना उम्मेदवारको जमानत जफत भएको कार्यालयले जनाएको छ ।

संगालोखबर 













