
विराटनगर । मोरङका ६ वटा क्षेत्रमध्ये ५ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम गरेको छ । एउटा क्षेत्रमा भने श्रम संस्कृति पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् ।
प्रतिनिधि सभा निर्वाचन अन्तरगत जारी मत गणनामा मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर अगाडि छन् । उनले पछिल्लो मत परिणाम अनुसार ५५४ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेस उम्मेदवार सुनिल शर्मा ३३६ मतसहित पछ्याइरहेका छन् भने रास्वपा उम्मेदवार गणेश कार्कीले २९५ मत पाएका छन् ।
मोरङ–६ मा रास्वपा उम्मेदवार रूविना आचार्यले फराकिलो अन्तर बनाएकी छन् । उनले ३ हजार ४३२ मत पाउँदा उनलाई पछ्याइरहेका काँग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले ७२८ मत पाएका छन् भने एमाले उम्मेदवार विनोद ढकाल ६२७ मत प्राप्त गरेका छन् ।
मोरङ–५ मा रास्वपा उम्मेदवार आशा झा ३ हजार ९७९ मतसहित अगाडि छिन् । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजकुमार यादवले १ हजार ३६६ मतसहित झालाई पछ्याइरहेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार शिवकुमार मण्डलले १ हजार २८६ मत पाएका छन् ।
मोरङ–४ मा रास्वपा उम्मेदवार सन्तोष राजवंशी ११ हजार ५६४ मतसहित धेरै अगाडि छन् । काँग्रेस उम्मेदवार गुरुराज घिमिरेले २ हजार ६४८ मतसहित राजवंशीलाई पछ्याइरहेका छन् । यस्तै नेकपाका अमनलाल मोदीले २ हजार ४२८ मत पाउँदा एमालेका जीवन घिमिरेले १ हजार ९५३ मत पाएका छन् ।
मोरङ–२ मा रास्वपा उम्मेदवार कृष्ण कार्की १ हजार १६७ मतसहित अगाडि छन् । एमाले उम्मेदवार दिलीपकुमार अग्रवालले ४४५ र नेपाली काँग्रेस उम्मेदवार मीनेन्द्र रिजालले ३६७ मत ल्याएका छन् ।
मोरङ–१ मा रास्वपा उम्मेदवार यज्ञमणी न्यौपाने ४ हजार १२४ मतसहित अगाडि छन् । श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिनले २ हजार ८१४ मतसहित न्यौपानेलाई पछ्याइरहेकी छन् । काँग्रेसका खड्ग फागोले १ हजार ८३० मत ल्याउँदा एमालेका घनश्याम खतिवडाले १ हजार ४९८ मत पाएका छन् ।

संगालोखबर 















