
विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत मोरङका ६ वटै क्षेत्रको मतगणना फरक-फरक स्थानमा हुनेछ । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रत्येक क्षेत्रका लागि अलग-अलग मतगणना केन्द्र निर्धारण गरिएको छ ।
मोरङ क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालयमा हुनेछ भने २ नम्बर क्षेत्रको मतगणना सिजुवाको विश्वनाथ मन्दिर परिसरमा गरिनेछ ।
कार्यालयका अनुसार क्षेत्र नम्बर ३ को मतगणना बेलबारीस्थित भगवती माध्यमिक विद्यालय र ४ नम्बर क्षेत्रको मतगणना विराटनगरको जनता नमूना माध्यमिक विद्यालयमा हुनेछ ।
मोरङ-५ को मतगणना विराटनगरस्तिथ सुनसरी-मोरङ सिँचाइ आयोजनाको कार्यालय र ६ नम्बर क्षेत्रको मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा हुनेछ ।
मोरङका सबै मतगणना स्थलमा सीसी क्यामेरा जडान गरिएको छ भने तारजालीको घेराबार र चौबीसै घण्टा विद्युत आपूर्तिका लागि आवश्यक पूर्वाधार तयार पारिएको छ ।

संगालोखबर 















