
विराटनगर । भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत कोशी प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । अधिकांश मतदान केन्द्र निर्माण र आवश्यक व्यवस्थापनको कार्य पूरा भइसकेको छ भने बाँकी केन्द्रको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।
निर्वाचनको लागि आवश्यक मतपेटिका, मतपत्र, कर्मचारी तथा सुरक्षाकर्मी परिचालन र मतदान केन्द्रमा आवश्यक सामग्री ढुवानीको कार्य सकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
कोशीका १ हजार ९ सय सात मतदानस्थलमध्ये ४ सय ३९ मतदान स्थल अतिसंवेदनशील सूचीमा रहेका कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ८२१ मतदान स्थल संवेदनशील र ६४७ मतदान स्थल सामान्यको सूचीमा छन् । यस्तै कोशी प्रदेशका सबै जिल्लाका १२० स्थानमा सेनाको बम डिस्पोजल टोली तैनाथ गरिएको छ ।
निर्वाचन कार्यालयको अनुसार कोशीमा ३५ लाख ७४ हजार ३ सय १० मतदातामध्ये १७ लाख ४६ हजार ७३ महिला, १८ लाख २८ हजार २ सय १३ पुरुष र २४ जना अन्य छन् । कोशीका १४ जिल्लामा २८ वटा निर्वाचन क्षेत्र छन् । जसमा ४ सय ९५ उम्मेदवार चुनावी मैदानमा छन् ।

संगालोखबर 















