
विराटनगर । विराटनगर महानगरपालिका-७ स्थित डाँफे चोकमा आज बिहान भेटिएको शंकास्पद बस्तु माटोको भाँडो भएको पाइएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङ अगाडिको चोकमा भेटिएको वस्तु बम जस्तो देखिएपछि त्रास छाएको थियो ।
उक्त शंकास्पद वस्तु पूजाआजा गरेर मन्साएको माटोको भाँडो रहेको पत्ता लागेको हो । वडा प्रहरी कार्यालय विराटनगरको टोली गस्ती गर्दै जाने क्रममा बिहानका राति २ बजेतिर कालो प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला पारेको थियो ।
त्यसलगत्तै प्रहरी टोलीले वरपर कडाइ गरेर मानिस तथा सवारीसाधन आवतजावतमा रोक लगाउँदै घटनास्थललाई सुरक्षित राखेको थियो । सिसी क्यामेरा हेर्दा स्कुटरमा आएका व्यक्तिले उक्त बस्तु राखेको देखिएको थियो ।
घटना शंकास्पद देखिएपछि प्रहरीले वस्तु निष्क्रिय पार्न नेपाली सेनालाई खबर गरेको थियो । सेनाले उक्त वस्तु आज बिहान ७ बजेतिर डिस्पोज गरेको हो ।
सेनाको टोली घटनास्थल पुगेर निष्क्रिय पार्दा उक्त वस्तु बम नभई पूजाआजा गरेर मन्साएको माटोको सानो हाँडी रहेको पाइएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
यस्तै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-३ पञ्चमीस्थित हाङपाङ–दोभान सडकखण्डमा कालो टेपले बेरिएको शंकास्पद वस्तु सेनाले आज मध्याह्न १२ बजे निष्कृय पारेको छ ।
निर्वाचन सुरक्षालाई लक्षित गरी पूर्वी पृतना अन्तर्गत कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूमा करिब १२० स्थानमा बम डिस्पोजल टिम तैनाथ गरिएको सेनाले जनाएको छ । कुनै शंकास्पद वस्तुहरू देखा वा फेला परेमा नजिकैको सुरक्षा निकायहरूलाई जानकारी गराउन समेत पूर्वी पृतना हेडक्वाटरले आग्रह गरेको छ ।

संगालोखबर 















