
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रका मतदान स्थलहरूमा कर्मचारीहरू पुगेका छन् । निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री लिएर आज कर्मचारीहरू सबै मतदान स्थलहरूमा पुगेका हुन् ।
कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार कर्मचारीहरूले १ नम्बर क्षेत्रका लागि उर्लाबारी, २ नम्बर क्षेत्रका लागि सिजुवा र ३ नम्बर क्षेत्रका लागि बेलबारीबाट सबै प्रकारका सामग्री बुझेका छन् ।
यस्तै ४ नम्बर क्षेत्रका लागि विराटनगरको पोखरिया, ५ नम्बर क्षेत्रका लागि सुनसरी-मोरङ सिँचाइ आयोजना र ६ नम्बर क्षेत्रका लागि जिल्ला समन्वय समितिको कार्यालय विराटनगरबाट मतदान अधिकृतले सामग्री बुझेर सुरक्षाकर्मीसहित आफ्नो निर्वाचन केन्द्रमा पुगेका छन् ।
कोशी प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालले आज बिहान ७ बजेदेखि निर्वाचनमा खटिने कर्मचारीहरूले क्षेत्र अनुसार निर्वाचन कार्यालयबाट सामग्रीहरू बुझेका जानकारी दिए । मोरङमा ८ सय ८८ वटा मतदान केन्द्र छन् ।


संगालोखबर 















