
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जटिल राजनीतिक अवस्थाबाट मुलुकलाई सही निकास दिन राष्ट्रिय शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।
होली पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले अहिलेको परिस्थितिमा विभाजन नभएर सहकार्य र एकतामार्फत मात्र राष्ट्रशक्ति निर्माण सम्भव हुने उल्लेख गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले रङहरूको पर्व होलीले आपसी सद्भाव, सहकार्य र जिम्मेवारीबोधलाई सुदृढ बनाउँदै सामूहिक लक्ष्यतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
उनले भ्रम र निराशा छरेर समाजलाई कमजोर बनाउन खोज्ने प्रवृत्तिलाई परास्त गर्न सकारात्मक सोच, विवेक र आत्मविश्वास आवश्यक रहेको बताए । होलीले नकारात्मकता हटाएर नयाँ ऊर्जा, उत्साह र प्रेरणा भर्ने अवसर दिने उनको विश्वास छ ।
उनले प्रत्येक नेपालीले आफ्नो विवेक, बुद्धि र क्षमतालाई सही ढंगले उपयोग गर्दै राष्ट्र निर्माणको साझा अभियानमा अग्रसर हुनुपर्ने धारणा व्यक्त गरेका छन् । सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय लक्ष्य हासिल गर्न एकता, सहिष्णुता र परिश्रम अपरिहार्य रहेको उनको भनाइ छ ।
नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक विशेषताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यिनै विविधता र मौलिक परम्पराले नेपाली समाजलाई अझ समृद्ध र बलियो बनाएको बताए ।
उनले पर्व-संस्कृतिले सामाजिक एकता मजबुत बनाउँदै राष्ट्रिय पहिचानलाई सुदृढ गर्ने काम गर्दै आएको चर्चा गरेका छन् । हिमाली तथा पहाडी जिल्लाहरूमा आज तथा तराई क्षेत्रमा भोलि हर्षाेल्लासका साथ होली पर्व मनाइँदैछ ।


संगालोखबर 















