
विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ का नेकपा एमाले उम्मेदवार मनोजकुमार अग्रवालको चुनावलक्षित मोटरसाइकल र्यालीमा जनलहर देखिएको छ । आक्रमक चुनावी अभियान सञ्चालन गरिरहेका अग्रवालले आज रंगेलीमा आयोजना गरेको र्यालीमा उल्लेखनीय संख्यामा सहभागिता रहेको थियो ।
रंगेलीका विभिन्न स्थानहरूमा निकालिएको वृहत् र्यालीमा क्षेत्रका नागरिक र कार्यकर्ताहरू सम्मेलित जनसागर उर्लिएको थियो । रंगेली बजारस्थित कालीमन्दिरबाट सुरु भएको र्यालीको कोणसभामा बोल्ने क्रममा उम्मेदवार अग्रवालले आफ्नो पक्षमा बलियो माहोल बनेको उल्लेख गर्दै जित सुनिश्चित रहेको दाबी गरे ।
आफ्नो निर्वाचन क्षेत्रका विकास योजना, समसामयिक मुद्दा र आगामी चुनौतीबारे जनतालाई जानकारी दिने कार्यक्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएकोमा आफू आशावादी रहेको उनको भनाइ छ ।
घरदैलो पुगेर जनतासँग साक्षत्कार गर्दा अधिकांश मतदाताले आफूबाट आशावादी रहेको जनाएको उल्लेख गर्दै यसपालि आफ्नो संघीय संसदको यात्रा सफल बनाउन सबै लागिपरेको बताए ।
सामाजिक छवि र सांगठनिक बलका आधारमा चुनावी मैदानमा होमिएका अग्रवाललाई १० वर्षपछि एमालेले आफ्नो आधिकारिक उम्मेदवारका रूपमा उठाएको हो । पछिल्ला दुई वटा निर्वाचनमा एमालेले अन्य दललाई सघाउँदा यस क्षेत्रका मतदाताले सूर्य चिह्नमा भोट हाल्न पाएका थिएनन् ।
यसअघि २०७४ सालमा तत्कालीन माओवादीसँग एकता गरेको एमालेले शिवकुमार मण्डललाई सहयोग गरी जिताएको थियो । २०७९ सालमा एमालेले जसपाका राजकुमार यादवलाई सघाएको भए पनि स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका थिए ।

संगालोखबर 















