
विराटनगर । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ६ मा चुनावी समीकरण अप्रत्याशित मोडमा पुगेको छ । उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका युवा उम्मेदवार वसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन् ।
आज बुढीगंगास्थित गोकुवामा आयोजित कार्यक्रममार्फत औपचारिक रूपमा उम्मेदवारी निष्क्रिय पारिएको घोषणा गर्दै बुढाथोकी एमाले प्रवेश गरेका छन् । कार्यक्रममा एमाले उम्मेदवार विनोद ढकाल, नेता लालबाबु पण्डित र पर्शुराम बस्नेतलगायतले बुढाथोकीलाई पार्टीमा स्वागत गरेका छन् ।
बुढाथोकीले आफू अब उम्मेदवारका रूपमा क्रियाशील नरहने स्पष्ट पार्दै आफूलाई साथ र समर्थन गर्ने सम्पूर्ण मतदातालाई एमालेका उम्मेदवार ढकाललाई सहयोग गर्न आग्रह गरे ।
‘यो क्षेत्रको विकासका लागि एमालेको विकल्प देखिएन,’ उनले भने, ‘विगतमा एमालेले जित्दा क्षेत्रमा देखिने खालको काम भएको छ । अरूले जित्दा क्षेत्रगत विकास ओझेलमा पर्याे । त्यसैले अब विकासको निरन्तरताका लागि विनोद ढकाललाई जिताउन सक्रिय हुनुपर्छ ।’
यस क्षेत्रमा नेपाली काँग्रेसका प्रभावशाली नेता एवं अनुभवी राजनीतिज्ञ ७५ वर्षीय डाक्टर शेखर कोइराला पनि चुनावी मैदानमा छन् । एमालेका विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मजदुर नेता ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुविना आचार्य, स्वतन्त्र उम्मेदवार उत्तम दाहालसहित १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यही पृष्ठभूमिमा सबैभन्दा कान्छा उम्मेदवारका रूपमा प्रस्तुत भएका वसन्त बुढाथोकीको उम्मेदवारी फिर्ताले नयाँ राजनीतिक माहोल सिर्जना गरेको छ । २५ वर्षीय बुढाथोकीलाई आम मतदाताले जेनजी उम्मेदवारका रूपमा चिन्दै आएका थिए । यो क्षेत्रमा कुल १ लाख ३७ हजार ८ सय ३२ मतदाता छन् ।
मोरङ–६ को चुनावी मैदानमा अहिले मुख्य प्रतिस्पर्धा अनुभवी र स्थापित नेताहरूबीच केन्द्रित भएको छ । डाक्टर शेखर कोइराला आफ्नो दशकौँ लामो राजनीतिक अनुभव र कांग्रेसको सांगठनिक सञ्जालमा भर परिरहेका छन् भने एमालेका विनोद ढकाल विकासको निरन्तरता र स्थायित्वको नारासहित मतदातामाझ पुगिरहेका छन् ।

संगालोखबर 















