
विराटनगर । विराटनगरको कान्तिपुर माध्यमिक विद्यालयले ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । तीन दिवसीय कार्यक्रम अन्तरगत विद्यालयले दुई दिने कार्यक्रम विविध कार्यक्रम गरेर सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मेयर कोइरालाले विराटनगर शैक्षिक केन्द्रका रूपमा स्थापित भएको उल्लेख गरे ।
उनले यसलाई थप अगाडि बढाउन विद्यालयहरूले सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए । ‘अतिरिक्त क्रियाकलाप पनि उत्तिकै आवश्यक छ’, उनले भने, ‘सीप र संस्कारसहितको शिक्षा आजको आवश्यकता हो ।’
दोस्रो दिनको कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई विराटनगरका प्रमुख शालिग्राम दाहालले नतिजा मात्रै सबै कुरा नभएर विद्यार्थीको चौतर्फी विकार महत्वपूर्ण भएको उल्लेख गरे ।
उनले अहिले प्रविधिको युगमा विद्यार्थीहरूले धेरै कुरा सिक्न सक्ने बताउँदै त्यसको दुरुपयोग नगर्न आग्रह गरे । त्यसका लागि अभिभावक र शिक्षक चनाखो हुनुपर्नेमा उनले जोड दिए । उनले प्रविधिलाई पढाइसँग जोड्नुपर्ने बताए ।
विद्यालयका प्राचार्य भुवन नेपालले विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यवहारिक शिक्षा प्रदान गरिरहेको उल्लेख गरे । उनले कान्तिपुरका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउनका साथै विभिन्न गतिविधिमा अब्बल रहेका बताए ।
‘हामी अन्तराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षामा जोड दिइरहेका छौं’, उनले भने, ‘अहिले कान्तिपुरमा ३ हजार बढी अध्ययनरत छन् ।’ उनले २०८५ सालसम्ममा आफ्नै सुविधासम्पन्न भवनमा पठन-पाठन सुरु गर्ने समेत उद्घोष गरे ।
कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, प्याब्सन मोरङका पदाधिकारी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सव तथा अभिभावक दिवस भोलि सम्पन्न हुने विद्यालयले जनाएको छ । भोलि कक्षा १२ विद्यार्थीहरूको बिदाइ तथा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको विद्यालयका प्राचार्य नेपालले जानकारी दिए ।

संगालोखबर 















