
विराटनगर । मोरङको बेलबारी नगरपालिका-२ मा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु भएको छ । दुर्घटनामा बेलबारी-२ लालभित्तीका ७९ वर्षीय जसबहादुर राईको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३५ प ९७५९ नम्बरको मोटरसाइकलले उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेका पैदलयात्री राईलाई बिहीबार दिउँसो ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा राति १० बजेतिर मृत्यु भएको मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।
प्रहरीले मोटरसाइकल चालक मोरङको उर्लाबारी नगरपालिका-५ का २१ वर्षीय अभिषेक निरौलालाई नियन्त्रणमा लिएको छ । मोटरसाइकलको तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

संगालोखबर 















