संगालोखबर


विराटनगर । मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत मतदान केन्द्रहरूमा खटिने ३ सय ६६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । बिहीबार पथरी शनिश्चरे स्थित पथरी बहुमुखी क्याम्पसमा उनीहरूलाई तालिम प्रदान गरिएको हो ।

मोरङका मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङ, क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत रुद्रप्रसाद अर्याल, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, कोशी प्रदेशका तिनै तहका सुरक्षा निकायका प्रमुखहरू लगायतले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिए ।

नेपाली सेनाका पूर्वी पृतनापति गौरव केसी, कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरे, कोशी प्रदेश सशस्त्र प्रहरी बलका प्रमुख मनिष थापा, कोशी प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगाल निर्वाचनलाई मर्यादित, भयरहित, अनुशासित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

मोरङका निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्दै निर्वाचन सफल पार्न अनुरोध गरेका थिए । मोरङमा ८ सय ८८ मतदान केन्द्र र ३०६ वटा मतदान स्थल छन् । यस्तै दुईवटा अस्थायी मतदान केन्द्र छन् ।

गत फागुन १० गतेदेखि आजसम्म मोरङका ६ वटै निर्वाचन क्षेत्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिने कार्यतालिका छ । आज क्षेत्र नम्बर १ अन्तर्गतका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिने कार्यक्रम रहेको कोशी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!