
विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले पहिलो चरणको चुनावी अभियान सकेका छन् । फागुन १३ गतेसम्म निर्वाचन क्षेत्रका २३ वटै वडामा घरदैलो गरेका हुन् ।
अभियानको समीक्षा गर्दै घिमिरेले पहिलो चरणमा २० हजारभन्दा बढी घरसम्म पुगेर मतदाताहरूसँग प्रत्यक्ष संवाद गरेको बताए । चुनावी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन एमालेले मोरङ ४ मा सङ्गठन परिचालन तीब्र बनाएको छ ।
२३ वटा वडा स्तरीय परिचालन समितिसहित क्षेत्रीय परिचालन समिति, प्रचारप्रसार, सामाजिक सञ्जाल, युवा, महिला र पेशागत क्लस्टर गरी विभिन्न उपसमिति सक्रिय रहेको उनले बताए ।
पहिलो चरणको घरदैलोको समापनसँगै घिमिरेले अब दोस्रो चरणको विशेष अभियान सुरु हुने जानकारी दिए । दोस्रो चरणमा अभियानलाई परिणाममुखी बनाइने उनको भनाइ छ ।

संगालोखबर 















