
विराटनगर । नेपाली काँग्रेसका युवा नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै आफ्नो मुख्य चुनावी एजेण्डा भएको बताएका छन् ।
पथरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । उनले ‘काँग्रेस बोल्छ कम, काम बढी गर्छ’ भन्ने गिरिजाप्रसाद कोइरालाको मान्यतालाई आफूले व्यवहारमा उतारेको बताए ।
उनले पथरीमा निर्माण भएको ३५ करोडको खानेपानी ट्याङ्की र ३० वर्षदेखि अलपत्र रहेको पथरी-डायनिया-सिक्टी व्यापारिक मार्गको निर्माण कार्यलाई आफ्नो प्रमुख उपलब्धिको रूपमा प्रस्तुत गरेका छन् ।
डा. शर्माले ३५ वर्षदेखि सुकुम्बासीहरूले भोग्दै आएको धनीपुर्जा सम्बन्धी समस्या समाधानका लागि आफूले ठोस पहल गरेको बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा आफ्नो विशेष रुचि रहेको बताउँदै डा. शर्माले २५ वर्षदेखि रोकिएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनको निर्णय गराउन सफल भएकोमा खुशी व्यक्त गरे ।
उनले आगामी दुई हप्ताभित्र डाक्टर पढ्ने विद्यार्थी आउने र ५ वर्षभित्र ५ सय शैय्याको अत्याधुनिक टिचिङ अस्पताल निर्माण हुने घोषणा गरे । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै उनले २०७९ को निर्वाचनमा जस्तै अपार माया र आशीर्वाद पाइरहेको बताए ।

संगालोखबर 















