संगालोखबर


विराटनगर । नेपाली काँग्रेसका महामन्त्री तथा मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार गुरुराज घिमिरेले आगामी निर्वाचनलाई लक्षित गर्दै ३९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आफ्नो क्षेत्रको विकासका लागि प्राथमिकताका आधारमा तयार पारिएको विस्तृत योजना उनले सार्वजनिक गरेका हुन् ।

उम्मेदवार घिमिरेले विशेष गरी पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खेलकुद र कृषिलाई आफ्नो प्राथमिकतामा राखेका छन् । उनको प्रतिबद्धता पत्रमा विराटनगर-१९ वैजनाथपुरस्थित खेलमैदानलाई गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको रूपमा विकास गरी अन्य खेलका सुविधासहितको व्यवस्थित ‘खेलकुद ग्राम’ बनाउने योजना अगाडि सारिएको छ ।

त्यस्तै शिक्षा क्षेत्रमा सामुदायिक तथा आधारभूत विद्यालयहरूमा अंग्रेजी माध्यमको पठनपाठन सुचारु गर्ने, विद्यालयहरूलाई सूचना प्रविधिमैत्री बनाउने र ई-लाईब्रेरीको सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ ।

भौतिक पूर्वाधारतर्फ सुनसरी-मोरङ सिँचाइ योजनाको मूल नहरको बाटोमा सुनसरीको खनारदेखि मोरङको केरौनसम्म आवश्यक स्थानहरूमा पक्की पुल निर्माण र कालोपत्रे गरिने योजना उनले अघि सारेका छन् ।

साथै ग्रामथान-५ तेतरियामा रहेको ग्रामथानलाई सरियाधामी थारू जातिको संग्रहालयका रूपमा विकास गर्ने, क्षेत्रका अन्य ग्रामथानहरूको संरक्षण तथा पूर्वाधार विकास गर्ने र हुरहुरियाको लोहन्द्रा खोलामा पक्की पुल र तटबन्ध निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखेका छन् ।

सडक सञ्जालको स्तरोन्नति गर्ने क्रममा साधुटोलदेखि धोवियारे, सिमरिया, लखन्तरी, मिलनचोक, महेशपुर हुँदै कटहरी हाटखोलासम्मको सडक कालोपत्रे गरिने तथा ग्रामीण क्षेत्रका हरेक वडामा सुविधा सम्पन्न सामुदायिक भवन, व्यवस्थित खेल मैदान, सार्वजनिक पार्क र पुस्तकालय स्थापना गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

उनले भूमिहीनहरूका लागि व्यवस्थित बसोबासको ठोस पहल गर्ने, विभिन्न स्थानमा वाचनालय, विश्रामालय र ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्रहरू स्थापना गर्ने तथा विराटनगर रिङरोड विस्तारका क्रममा देखिएका समस्याहरू सर्वपक्षीय छलफलबाट समाधान गर्ने उल्लेख गरेका छन् ।

कृषि क्षेत्रको विकासका लागि रासायनिक मल र बीउबिजनको सहज उपलब्धताका साथै उत्पादित उपजहरूको संरक्षण र बजार सहजिकरणका लागि शीतभण्डार र बिक्री केन्द्रको व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् ।

सिंघिया नदीको बाढीको दीर्घकालीन समाधानका लागि तटबन्ध र करिडोर निर्माण, साना कल्भर्ट, पक्की तथा झोलुङ्गे पुलहरूको निर्माणमा पनि उनले जोड दिएका छन् । यस क्षेत्रका गुरुकुल, पाठशाला, आयुर्वेद केन्द्र, ध्यान–योग केन्द्र, मदरसा, गुम्बा र चर्चहरूको आवश्यकतानुसार स्तरोन्नति गर्ने योजना पनि उनले अघि सारेका छन् ।

हरि-दुर्गा घिमिरे प्रतिष्ठानमार्फत आगामी वर्षदेखि यस क्षेत्रका सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना हुने १० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने, विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको सुविधा सम्पन्न विमानस्थल बनाइने र महानगर तथा आसपासका क्षेत्रमा बर्सेनि देखिने डुबान समस्यालाई दीर्घकालीन गुरुयोजनामार्फत समाधान गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

युवा पुस्तालाई लक्षित गर्दै उहाँले नवप्रवर्तनलाई प्रोत्साहन गर्न युवा उद्यमीहरूलाई बिना धितो ऋणको व्यवस्था मिलाउने र स्वरोजगारमूलक तालिमद्वारा उद्यमशीलता विकास गर्ने योजना पनि सार्वजनिक गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!