
धनकुटा । धनकुटा प्रहरीले लागूऔषध ओसार-पसारमा संलग्न १५ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । चार आर्थिक वर्षमा लागूऔषध ओसार-पसार तथा बिक्रीमा प्रयोग हुँदै आएका सावारीसाधन प्रहरीले नियन्त्रणमा लिएको हो ।
जसमा ४ वटा कार, ४ वटा पिकअप, २ वटा जिप, भन्सार छुटमा ल्याइएका आकस्मिक सेवाका २ वटा एम्बुलेन्स, २ वटा ट्रक र एउटा मिनिट्रक छन् ।
उक्त सवारीसाधन विगत चार आर्थिक वर्षको विभिन्न समयमा पक्राउ परेका कारोबारीसँगै जफत गरिएको धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
लागूऔषध ओसारपसारमा भारतीय नम्बर प्लेटका कारदेखि आकस्मिक सेवाका एम्बुलेन्स समेत प्रयोग भएको पाइएको छ । नियन्त्रणमा लिइएका सवारीसाधन पुरानो जिल्ला प्रहरी कार्यालयमा र मूलघाट चौकीमा राखिएको छ ।
नियन्त्रणमा रहेका सवारीसाधन कसुरको प्रकृति, परिमाण, संलग्नता र प्रमाणका आधारमा अदालतले गर्ने निर्णय पर्खिएर प्रहरीको रेखदेखमा राखिएको छ । अदालतको अन्तिम फैसला आएपछि मात्रै नियन्त्रणमा रहेका सवारीसाधनका बारेमा प्रष्ट हुने एसपी थापा क्षेत्रीले बताए ।

संगालोखबर 














