संगालोखबर


विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ–६ बाट स्वतन्त्र उम्मेदवारी दिएका उत्तम दाहाल (डेका) ले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।

‘आफ्नो मुद्दा आफै उठाऔं’ भन्ने नाराका साथ ‘मसी’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिनुका दाहालले २१ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

उनले विद्यमान राजनीतिक व्यवस्था र भ्रष्टाचार विरुद्ध कडा प्रहार गर्दै अबको विकल्प स्वतन्त्र उम्मेदवार मात्र भएको दाबी गरेका छन् ।

विगत १८ वर्षदेखि राजनीतिक दलहरूले जनतालाई धोका दिएको भन्दै दाहालले भ्रष्टाचारमा शून्य सहनशीलता र सम्पत्ति छानबिन लगायतका विषयलाई प्राथमिकता दिएका छन् ।

दाहालको घोषणापत्रमा भ्रष्टाचार नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखिएको छ । उनले २०४६ सालपछिका सबै नेता र कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने उल्लेख गरेका छन् । यस्तै भ्रष्टहरूबाट ५० खर्ब असुल गरी ५० लाख गरिबलाई १०-१० लाख स्वरोजगारका लागि वितरण गर्ने योजना अघि सारेका छन् ।

खर्चिलो प्रशासनिक संरचनाका रूपमा रहेको प्रदेश तह खारेज गर्ने र सो बजेटबाट क्यान्सर तथा मिर्गाैला जस्ता जटिल रोगहरूको उपचार गरिबका लागि पूर्ण निःशुल्क गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

यस्तै ५ सय र १ हजार दरका नोट रद्दी बनाई ‘कालो धन’ समाप्त पार्ने र भिआइपी प्रथा तथा भत्ता खारेज गर्ने उनको योजना छ । उनले कृषि क्षेत्रमा क्रान्ति ल्याउन ‘एसीएम’ मोडेल लागू गर्दै मल, बीउ र मेसिन शत प्रतिशत निःशुल्क बनाउने योजना उनले अघि सारेका छन् ।

‘किसानको उत्पादन सरकारले दोब्बर मूल्यमा किन्ने र उपभोक्तालाई आधा सस्तोमा दिने’ व्यवस्था मिलाई दलाल प्रथाको अन्त्य गर्ने उनको योजना छ । शिक्षातर्फ स्नातकसम्म संस्कृत, नैतिक शिक्षा र सूचना प्रविधि अनिवार्य र पूर्ण निःशुल्क गर्ने उनको भनाइ छ ।

यसैगरी नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउने र १ हजार ८ सय ८० किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमामा तत्काल काँडेतार वा पर्खाल लगाएर तस्करी नियन्त्रण गर्ने कुरालाई उनले प्राथमिकता दिएका छन् ।

यस्तै काम नगर्ने नेतालाई कार्यकालको बीचैमा जनताले पदच्युत गर्न पाउने कानुनी व्यवस्था, मुद्दा झुलाउने न्यायाधीशलाई बर्खास्त र काम नगर्ने ठेकेदारको लाइसेन्स खारेज गरिने, जातका आधारमा नभई गरिबले मात्र आरक्षण पाउने गरी संविधान संशोधन गर्ने र बेरोजगार युवालाई सीप र पुँजी स्वदेशमै उपलब्ध गराइने विषय अघि सारेका छन् ।

उनले ८ हजार वर्ग किलोमिटर सार्वजनिक जग्गा सुकुम्बासीलाई वितरण गरी जग्गाधनी बनाइने, राज्य असफल भएमा जनताले विद्रोह गर्न पाउने र सेनालाई अधिकार सुम्पिने संवैधानिक अधिकार सुनिश्चित गरिने घोषणा पत्रमा उल्लेख गरेका छन् ।

उम्मेदवार दाहालले सरकारी कार्यालयका हरेक कोठामा सीसी क्यामरा जडान गर्ने र कर्मचारीले सेवाग्राहीलाई ‘मालिक’ सरह सम्मान गर्दै सेवा दिनुपर्ने पद्धति बसाल्ने उल्लेख गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!