
धनकुटा । धनकुटा नगरपालिका–१ स्थित निगालेमा हायस गाडी दुर्घटना भएको छ । काठमाडौंबाट धनकुटाको हिलेतर्फ आउँदै गरेको ग २ ख १९५७ नम्बरको हायस अनियन्त्रित भएर सडकबाट पल्टिदाँ ७ जना घाइते भएका छन् ।
शनिबार साँझ भएको दुर्घटनामा धनकुटा नगरपालिका-१ का ३६ वर्षीय रामचन्द्र तामाङ, सोही ठाउँका १८ वर्षीय अभिषेक मगर, ३५ वर्षीय युमेश बिक र १३ वर्षीया निस्मा बिक घाइते भएका छन् ।
यस्तै ३५ वर्षीया कल्पना बिक र पाख्रीबास नगरपालिका-६ का ३० वर्षीय डिक बहादुर मगर र सोही ठाउँका ४० वर्षीय झमक बहादुर आले घाइते भएका हुन् । चालक हुम्ला घर भई हाल काठमडौं महानगरपालिका-९ एकान्त कुना बस्ने ३९ वर्षीय विजय कार्कीलाई प्रहरीले नियन्त्रण लिएको छ ।
दुर्घटनामा घाइते भएकाहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा धनकुटाका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र राई नेतृत्वको टोलीले उद्धार गरेर जिल्ला अस्पताल लगेको थियो ।
चुनावी अभियानमा सहभागि भएर धनकुटा बजार फर्कँदै गर्दा हायस दुर्घटना भएको देखेपछि राईसहितको टोलीले चुनावी अभियानमा प्रयोग गरेको गाडीमा राखेर घाइतेहरूलाई जिल्ला अस्पताल पुर्याइएको थियो ।

संगालोखबर 














