संगालोखबर


विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर पत्रकारका लागि विराटनगरमा कोशी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालना सम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै पत्रकारलाई धम्की, आक्रमणका घटनामा दैनिकजसो विज्ञप्ति निकाल्नु परिरहेको बताइन् ।

उनले सही र सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्दै डिजिटल प्लेटफर्मका कारण सही र सत्य सूचनाहरू जनता समक्ष पुर्याउन चुनौति रहेको उल्लेख गरिन् ।

पत्रकार महासंघले निर्वाचन अभिमुखीकरण कार्यक्रम सातवटै प्रदेशमा सञ्चालन गर्ने उनको भनाइ छ । कार्यक्रममा पत्रकारले भोगेका चुनौतीबारे छलफल गरिएको छ । उनले आचारसंहिता पालना गर्नु सबै पत्रकारको कर्तव्य भएको उल्लेख गरिन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कमल रिमालले पत्रकारले आफूले पनि आचारसंहिता पालना गर्ने र अरू पत्रकारलाई पनि पालना गराउँदै जिम्मेवार भएर रिपोर्टिङ गर्न आग्रह गरे ।

पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सही र सत्य समाचार सम्प्रेषण गर्न आग्रह गर्दै मिथ्या समाचार सम्प्रेषण गर्न नहुने उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष लिलाबल्लभ घिमिरेले निर्वाचनका समयमा धेरै उत्तेजित भएर रिपोर्टिङ नगर्न आग्रह गरे । कार्यक्रममा कोशी प्रदेशका तीन दर्जन बढी पत्रकार सहभागि थिए । कार्यक्रमको सहजीकरण महासंघ अध्यक्ष शर्मा  र रविराज बरालले गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!