
विराटनगर । विराटनगरमा निर्वाचन सुरक्षा अभ्याससँगै नमुना मतदान गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज डिग्री क्याम्पस परिसरमा अभ्यास गरिएको हो । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
निर्वाचनका बेला मतदातालाई कसरी सुरक्षित रूपमा मतदान गराउने, सम्भावित जोखिमलाई कसरी टार्ने र मतदान सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा मतगणनास्थलसम्म कसरी र्पुयाउने भन्ने विषयलाई अभ्यासमा प्रस्तुत गरिएको थियो ।
सरकारको योजना अनुरूप यसपटकको निर्वाचनमा पनि तीनवटै सुरक्षा निकायलाई तहगत रूपमा परिचालन गरिनेछ । अभ्यासका क्रममा मतदानस्थलमा हुलदंगा वा अवरोध सिर्जना भएमा सुरक्षा संयन्त्र कसरी परिचालन हुन्छ भन्ने प्रत्यक्ष देखाइएको थियो ।
नमुना अभ्यासमा देखाइए अनुसार मतदानका क्रममा कुनै समूहले होहल्ला गरे वा मतदान प्रक्रियामा अवरोध र्पुयाउन खोजेमा पहिलो घेरामा रहेको नेपाल प्रहरीले अवरोध हटाएर स्थिति नियन्त्रणमा लिने प्रयास गर्नेछ ।
नेपाल प्रहरीको प्रयासबाट मात्र स्थिति नियन्त्रणमा नआएमा दोस्रो घेरामा रहेको सशस्त्र प्रहरी बल परिचालन हुनेछ । सशस्त्र प्रहरीबाट पनि स्थिति सामान्य बन्न नसकेमा अन्तिम विकल्पका रूपमा तेस्रो घेरामा रहेको नेपाली सेनाले अग्रभागमा रहेर मोर्चा सम्हाल्नेछ ।
परिस्थिति पूर्ण रूपमा नियन्त्रण बाहिर गएको खण्डमा सेनाले थप बल प्रयोग गर्ने र आवश्यकताअनुसार गोली चलाउनेसम्मको कारबाही गर्नसक्ने अभ्यासका क्रममा देखाइएको थियो ।

संगालोखबर 














