
विराटनगर । नेपाली काँग्रेसका नेता तथा मोरङ-६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शेखर कोइरालाले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापन लगायतलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।
विराटनगर-६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले सुकुम्बासी बस्तीका समस्या समाधानका लागि आफूले ठोस पहल गर्ने र यसलाई प्राथमिकतामा राखेको उल्लेख गरेका हुन् ।
उनले सुकुम्बासी आयोगका सदस्यहरूसँग प्रारम्भिक छलफल भइसकेको जानकारी दिँदै छिट्टै आयोगका प्रतिनिधिहरू बस्तीमै आएर स्थानीयका पिरमर्का सुन्ने वातावरण मिलाउने आश्वासन दिए । कोइरालाले सुकुम्बासीहरूलाई कानुनी हैसियतसहित बसोबासको सुनिश्चितता दिन आवश्यक प्रक्रिया अघि बढाउने दाबी गरे ।
उनले अर्को महत्त्वपूर्ण योजनाका रूपमा विराटनगर चक्रपथ (रिङरोड) निर्माणलाई अघि सारेका छन् । चक्रपथ निर्माण नहुँदा सहरको विकासले सोचेजस्तो गति लिन नसकेको उनको ठहर छ । यदि समयमै चक्रपथ बनेको भए वडा नम्बर ४ र ६ को स्वरूप नै परिवर्तन भई व्यापार र पूर्वाधारमा ठूलो क्रान्ति आउने उनले उल्लेख गरे ।
वडा नम्बर ६ भित्रका अलपत्र सडकका विषयमा बोल्दै कोइरालाले ठेक्का लागेर पनि ठेकेदार फरार भएका कारण काम रोकिएको खुलासा गरे । उनले निर्वाचन लगत्तै उक्त सडक निर्माणलाई पुनः अघि बढाउन पहल गर्ने र अब उप्रान्त विकास निर्माणमा यस्तो ढिलासुस्ती हुन नदिने प्रतिवद्धता जनाए ।

संगालोखबर 














