संगालोखबर
फाइल तस्बिर

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाले बाँदर हेरालु नियुक्त गरेको छ । कृषकले लगाएको बालीनालीमा क्षति पुर्याउन थालेपछी त्यसको नियन्त्रणका लागि नगरपालिकाले बाँदर धपाउनका लागि हेरालु नियुक्त गरेको हो ।

प्रारम्भिक चरणमा दैनिक ज्यालादारीमा दुई जना पुरुषलाई बाँदर हेरालु नियुक्त गरेर परिचालन गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख ज्ञानबहादुर गुरुङका अनुसार उनीहरूलाई गमबुट, टर्च, गुलेली र लौरो उपलब्ध गराएर गस्तीमा खटाइएको छ ।

‘पाख्रीबासका सबै वडामा पुग्ने गरी माघदेखि दुई जनालाई नियुक्त गरेका छौँ’, नगरप्रमुख गुरुङले संगालोखबरसँग भने, ‘उनीहरूलाई स्थानीयले खबर गरेअनुसार खटाइने गरिएको छ । दुई जनाले मात्र सम्भव हुँदैन । उहाँहरूलाई स्थानीयले पनि सहयोग गर्नुहुन्छ ।’

उनले अहिले परीक्षणकालमै रहेकाले प्रभावकारी भएमा विस्तारै जनशक्ति बढाउने उल्लेख गरे । अहिलेसम्मको अवस्थामा प्रभावकारी नै देखिएको उनको भनाइ छ । बाँदरले कृषकले लगाएको बालीनालीमा ठूलो क्षति पुर्याउने र ठूलो संख्यामा आएको बेला बालबालिका, महिला तथा बुढाबुढीलाई आक्रमण गर्नसक्ने सम्भावना भएकाले हेरालु परिचालन गरिएको उनले बताए ।

हेरालुले एक स्थानमा दुईतीन दिनसम्म बसेर बाँदर धपाउने गरेका छन् । बाँदरले धेरै नै दुःख दिन थालेपछी यो उपाय अपनाउनुपरेको नगरपालिकाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!