
धनकुटा । धनकुटा नगरपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको प्रायोजन तथा भाषा माध्यमिक विद्यालयको आयोजनामा तल्लो टुँडिखेलमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख तामाङले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्व हुने बताए । खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउन भूमिका खेल्ने उल्लेख गर्दै उनले शारीरिक स्वास्थ्यका लागि पनि आवश्यकता रहेकोमा जोड दिए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सुरु भएको प्रतियोगिता भोलि समापन हुनेछ । आज १ सय, ४ सय, ८ सय र १५ सय मिटर छात्रा-छात्र दौड प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा १५ सय मिटर छात्रातर्फ हिले माध्यमिक विद्यालयकी सन्ध्या कार्की प्रथम, देउराली माविकी अविस्मा राई द्वितीय र जनकल्याण माविकी सोनिया दर्लामी तृतीय भए ।

यस्तै छात्रतर्फ जनकल्याण माविका दुर्गा बहादुर कार्की प्रथम, टंक माविका मिसन भुजेल द्वितीय र गोकुण्डेश्वर माविका रोहिणी गिरी तृतीय भए । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

भोलि छात्र-छात्रा भलिबल, कबड्डी, एथलेटिक्सतर्फ हाइजम्प, लङजम्प लगायतका विभिन्न प्रतियोगिता हुने आयोजक विद्यालयका प्रधानाध्यापक गोविन्द राईले जानकारी दिए । प्रतियोगितामा नगर भित्रका सामुदायिक तथा संस्थागत गरी २२ वटा विद्यालय सहभागि छन् ।



तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

संगालोखबर 














