
धरान । नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर १ का लागि पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई समेट्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । निर्वाचन प्रचार-प्रसार समितिमार्फत सार्वजनिक गरिएको योजनामार्फत धरान, बराहक्षेत्र र रामधुनी नगरपालिकालाई समृद्ध, सुरक्षित र आत्मनिर्भर बनाउने लक्ष्य अघि सारिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेले सुनसरी-१ मा युवा नेता टीकाराम लिम्बूलाई उम्मेदवार बनाएको छ । विकासमुखी एजेण्डालाई केन्द्रमा राख्दै लिम्बूले विगतमा एमाले नेतृत्वका सरकारले सुरु गरेका तर अधुरा रहेका आयोजनाहरूलाई पूर्णता दिने संकल्प गरेका छन् ।
उनले आफ्नो उम्मेदवारी यस क्षेत्रको समग्र रूपान्तरण र नागरिकको जीवनस्तर सुधारका लागि भएको स्पष्ट पारेका छन् । एमालेको यो योजनामा भौतिक पूर्वाधारलाई विशेष महत्त्व दिइएको छ ।
धरान-लेउती सुरुङमार्ग निर्माणलाई रणनीतिक परियोजनाका रूपमा अघि बढाइने उल्लेख गरिएको छ भने तरहराबाट कालाबन्जार हुँदै चतरासम्मको सडक विस्तार र स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको छ ।
यस्तै सर्दु जलाधार क्षेत्रको सीमा विवाद समाधान गरी प्राकृतिक स्रोतको संरक्षण गर्ने र भित्री सडक सञ्जाललाई पक्की पुलमार्फत जोड्ने लक्ष्य राखिएको छ । रामधुनी र बराहक्षेत्रमा औद्योगिक तथा कृषि उत्पादन ढुवानीलाई सहज बनाउन आधुनिक सडक सञ्जाल विस्तार गरिने उल्लेख गरिएको छ ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि एमालेले ठोस सुधारको खाका अघि सारेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुधार, उपकरण व्यवस्थापन र भौतिक पूर्वाधार विस्तारलाई केन्द्रमा राखिएको छ ।
धरान नगर अस्पताल र मातृ-शिशु अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरी ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने लक्ष्य छ । शिक्षातर्फ धरानलाई शैक्षिक हबका रूपमा विकास गर्ने, सामुदायिक विद्यालयको स्तर सुधार्ने र प्राविधिक शिक्षाको विस्तारमार्फत युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने योजना समेटिएको छ ।
पर्यटन र कृषिलाई यस क्षेत्रको आर्थिक मेरुदण्डका रूपमा विकास गर्ने एमालेको रणनीति छ । बराहक्षेत्र मन्दिरलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय केन्द्र बनाउने, कोशी टप्पु वन्यजन्तु आरक्षसँग पर्यटन सञ्जाल जोड्ने र धरान-भेडेटार क्षेत्रलाई साहसिक पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ ।
एमालेले कृषिमा आधुनिकीकरण, सामूहिक खेती प्रणाली र जडीबुटी प्रशोधन उद्योग स्थापना गरी रामधुनी र बराहक्षेत्रका किसानको आयआर्जन बढाउने योजना अघि सारेको छ ।
धरानको वर्षाैँ पुरानो खानेपानी समस्याको दीर्घकालीन समाधान खोज्ने, बाढी-पहिरो नियन्त्रणका लागि सर्दु र सेउती खोलामा तटबन्ध निर्माण गर्ने र अव्यवस्थित बसोबासलाई कानुनी प्रक्रियाअनुसार व्यवस्थित गर्ने जस्ता विषयलाई समेटेको छ ।

संगालोखबर 














