संगालोखबर


विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मोरङ-५ को उम्मेदवार बनेका राजकुमार यादवले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । विराटनगर १४ रामजानकी मन्दिरमा आज पत्रकार सम्मेलन गर्दै यादवले ३२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

खुला प्रचार अभियानको औपचारिक सुरुवात गर्दै उनले ६ वटा प्राथमिकता क्षेत्रमा आधारित भएर प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । उनको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पूर्वाधार, पर्यटनलाई प्राथमिकतामा राखिएको छ ।

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने, प्राविधिक तथा सीपमुलक शिक्षाबाट युवालाई दक्ष बनाउने, मोरङ-५ का २४ वटै वडामा प्रभावकारी स्वास्थ्य सेवा, बन्द उद्योग पुन: सञ्चालन र नयाँ उद्योग स्थापना र सहुलियत ऋणमार्फत उद्यमशीलता प्रबर्द्धन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

बाँझो जमिन राख्न नपाइने गरि उत्पादनमा जोड दिने, मल, बिउ, सिँचाइको सहज उपलब्धता, आधुनिक कृषि प्रविधि र यान्त्रिकरणको विस्तार, सडक कालोपत्रे, पुल निर्माण र ढल व्यवस्थापन, सुरक्षित खानेपानी तथा विद्युतको विस्तार गर्ने प्रतिबद्धता पत्रमा समावेश गरेका छन् ।

विराट राजाको दरवार संरक्षण र सौन्दर्यकरण गरि आन्तरिक तथा बाह्य पर्यटक भित्राइने, रंगेलीको सन्सारीमाई मन्दिर स्तरोन्नति, पार्क, ताल, पोखरीको विकास गरिने, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सुकुम्बासीलाई अधिकार, आवास र सम्मान तथा मोरङ-५ लाई विकासको नमूना क्षेत्र बनाउने उनले उल्लेख गरेका छन् ।

दोश्रो संविधान सभा २०७०, प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४, ०७९ र ०८२ गरि चौथो पटक यादव प्रतिष्पर्धामा छन् । चौथो प्रयासमा परिणाम निकाल्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!