
विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आजदेखि दुई दिने शैक्षिक प्रदर्शनी सुरु भएको छ । पहिलो दिन एल केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरूले आ-आफ्नो प्रदर्शनी गरेका छन् ।
वर्षभरि पाठ्यक्रममा पढेका विषयवस्तुहरूलाई व्यवहारिक रुपमा के सिकियो भन्ने कुरालाई विद्यार्थीहरूले विभिन्न प्रोजेक्ट मार्फत प्रस्तुत गरेका हुन् । उनीहरूले विभिन्न विषयका परियोजनाहरू अभिभावकलाई देखाउँदै त्यसबारे बताएका छन् ।
कृयाकलापमा आधारित सिकाइ पद्धति अवलम्बन गर्दै आएको एभरेष्ट स्कुलले मन्टेश्वरी तहमा थिम बेसमा अध्यापन गराउँदै आएको छ भने कक्षा २ देखि माथि पाठ्यक्रममा आधारित शिक्षा प्रदान गर्दै आएको छ ।
विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले बालबालिकाले कक्षा कोठामा सिकेका कुराहरूलाई कृयाकलाप मार्फत प्रस्तुत गर्ने प्ल्याटफर्मको रुपमा यो प्रदर्शनी रहेको बताए । यसले बालबालिकामा आत्मविश्वास अभिवृद्धि गर्दै सृजनशील बनाउन सहयोग पुग्ने उनको भनाइ छ । कक्षा ६ देखि माथिको प्रदर्शनी भोलि हुने विद्यालयले जनाएको छ ।

संगालोखबर 














