संगालोखबर


विराटनगर । विराटनगरमा जारी काेशी प्रदेश स्तरीय चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली युनाइटेड भेट्रान्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा आज भएको अन्तिम क्वार्टरफाइनलमा उर्लाबारी भेट्रान्स क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले अन्तिम चारको यात्रा तय गरेको हो ।

युनाइटेडको जितमा जागेश्वर चौधरीले दुई र तेजमान लिम्बुले एक गोल गरे । उर्लाबारीका लागि प्रकाश राईले एक गोल फर्काए । त्यो बाहेक उर्लाबारीले गोल फर्काउन सकेन ।

प्रतिस्पर्धात्मक खेलको २३ औं मिनेटमा तेजमान लिम्बुले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको उर्लाबारी दोस्रो हाफमा थप दबाबमा देखियो । ४५ औं मिनेटमा जागेश्वर चौधरीले गोल थप्दै युनाइटेडको अग्रता दोब्बर बनाएका थिए ।

खेलको ५० औं मिनेटमा उर्लाबारीका प्रकाश राईले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याएर पुनरागमनको संकेत गरे पनि त्यो उत्साह धेरै समय टिक्न सकेन । त्यसको एक मिनेट नबित्दै जागेश्वरले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे ।

निर्णायक दुई गोल गरेका युनाइटेडका जागेश्वर चौधरी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । प्रतियोगिताअन्तर्गत भोलि पहिलो सेमिफाइनलमा एभरेष्ट भेट्रान्स क्लब र हाम्रो इटहरी भेट्रान्स क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!