
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले चोरी, बेवारिसे तथा स्वामित्व नखुलेका ३६ वटा सवारी-साधन लिलामी प्रक्रियामार्फत बिक्री गरेको छ । आवश्यक कानुनी प्रक्रिया पुरा गरी सार्वजनिक लिलाममार्फत उक्त सवारी-साधन बिक्री गरिएको हो ।
धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले ३५ वटा मोटरसाइकल र एउटा स्कुटर गरी जम्मा ३६ वटा सवारी-साधन लिलाम बिक्री गदिएको जानकारी दिए । सवारी-साधन लिलाम बिक्रीबाट एक लाख ८० हजार ६ सय रुपैयाँ राजश्व संकलन भएको उनले बताए ।
लामो समयसम्म दाबी गर्न कोही नआएका तथा कानुनी रूपमा स्वामित्व नखुलेका सवारी साधनहरू सम्बन्धित ऐन नियम बमोजिम मूल्याङ्कन गरी लिलाम गरिएको उनको भनाइ छ ।
सार्वजनिक सूचना प्रकाशन, मूल्याङ्कन तथा आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र लिलाम प्रक्रिया अघि बढाउन पाइने व्यवस्था रहेको छ । सबै कानुनी प्रक्रिया टुङ्ग्याए पश्चात् मात्रै व्यवस्थापन गरिएको प्रहरीको भनाइ छ ।
लामो समयसम्म राख्दा संरक्षण साथै व्यवस्थापनमा समस्या हुने भएकाले लिलाममार्फत बिक्री गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिए । उक्त लिलामबाट प्राप्त रकम सरकारी राजश्व खातामा जम्मा गरिएको छ ।

संगालोखबर 














