
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-२० वरडाँडाबाट प्रहरीले ९ सय ५५ किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको छ । आज बिहानको राति करिब २ः१० बजे चेकजाँचका क्रममा गाँजा बरामद भएसँगै प्रहरीले दुबै गाडीका चालकलाई पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बाराको कोहल्वी नगरपालिका-८ का २८ वर्षीय सन्दीप कुमार माझी र काठमाडौंको चन्द्रागिरी नगरपालिका-८ का ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठ रहेका सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए ।
माझी बागमती प्रदेश ०१-०२७ च ११४३ नम्बरको गाडीका चालक हुन् । उक्त गाडीबाट ४ सय ६० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठ सवार बी एसी ३२३६ नम्बरको गाडीका चालक हुन् । उनले चलाएको गाडीबाट ४ सय ६० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । गाँजा ओसार-पसार तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
गाँजा र गाडीसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । उनीहरूका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 














