
सुनसरी । नेकपा एमालेबाट सुनसरी-३ बाट उम्मेदवार बनेकी भगवती चौधरीले आगामी पाँच वर्षभित्र देश, निर्वाचन क्षेत्र र जनताको हितमा ठोस परिणाम दिने प्रतिबद्धता व्यक्त गरेकी छन् । संविधानअनुसार जनप्रतिनिधिको जिम्मेवारी पूरा गर्दै विकास, सुशासन र समावेशितालाई केन्द्रमा राखेर काम गर्ने उनले बताइन् ।
उम्मेदवार चौधरीले राष्ट्रिय तहमा कानुन निर्माणलाई पहिलो प्राथमिकता दिने बताउँदै नयाँ ऐन निर्माण, आवश्यक संशोधन तथा जनहितका कानुन संसदमा प्रस्ताव गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने उल्लेख गरिन् ।
त्यसैगरी सरकारका कामकारवाहीमाथि निगरानी राख्दै आवश्यक प्रश्न, बहस र छानबिनको मागमार्फत उत्तरदायित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । राष्ट्रिय नीति, योजना र बजेट निर्माण प्रक्रियामा प्रभावकारी भूमिका खेल्ने र शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन तथा भ्रष्टाचार नियन्त्रणजस्ता विषय संसदमा सशक्त रूपमा आवाज उठाउने उनले बताइन् ।
यस्तै अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा संसदीय कूटनीति, अन्तर्राष्ट्रिय सम्मेलन तथा मैत्री समूहमार्फत नेपालको हित प्रवर्द्धन गर्ने उनको भनाइ छ ।
आफ्नो निर्वाचन क्षेत्र सुनसरी-३ को विकासलाई उच्च प्राथमिकतामा राख्दै चौधरीले सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत र सञ्चार पूर्वाधार विस्तारमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा विद्यालय, क्याम्पस, अस्पताल तथा स्वास्थ्य चौकी स्थापना र स्तरोन्नतिका लागि पहल गर्ने उनको योजना छ । बाढी, पहिरो, भूमि समस्या र बसाइँसराइजस्ता स्थानीय मुद्दा संघीय सरकारसमक्ष पुर्याएर समाधानका लागि पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
संघीय बजेटमार्फत क्षेत्रका प्राथमिक परियोजनामा पर्याप्त रकम सुनिश्चित गर्न दबाब सिर्जना गर्ने तथा प्रदेश र स्थानीय तहसँग समन्वय गरी दीर्घकालीन विकास योजना निर्माणमा अग्रसर रहने उनको भनाइ छ ।
महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा युवाका मुद्दा सशक्त रूपमा उठाउने र रोजगारी प्रवर्द्धनका लागि सीप विकास, उद्योग, कृषि र पर्यटन क्षेत्रमा नीतिगत सहयोग जुटाउने उनले उल्लेख गरिन् ।
चौधरीले संविधानको रक्षा, सुशासन र पारदर्शितालाई आफ्नो राजनीतिक तथा नैतिक जिम्मेवारीका रूपमा लिने स्पष्ट पारिन् । इमानदार, उत्तरदायी र जनमुखी भूमिकामार्फत लोकतन्त्रलाई मजबुत बनाउने तथा शान्ति र स्थिरताको पक्षमा दृढ रहने उनको प्रतिबद्धता छ ।

संगालोखबर 














