संगालोखबर


विराटनगर । नेकपा एमालेका तर्फबाट मोरङ-५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज कुमार अग्रवालले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर उम्मेदवार अग्रवालले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

‘मेरो क्षेत्र, मेरो जिम्मेवारी’ भन्ने सङ्कल्प साथ उम्मेदवार अग्रवालले उद्योग, कृषि, शिक्षा र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखेर प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

प्रत्येक वडामा खेल मैदान र व्यायामशाला निर्माण गरिने तथा ‘कमाउँदै पढ्दै’ कार्यक्रम र जेहनदार युवाका लागि बिना धितो सरल कर्जाको व्यवस्था मिलाइने उनले प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।

यस्तै उनले आयमूलक र सीपमूलक तालिमका साथै महिलाहरूको निःशुल्क स्वास्थ्य जाँचको योजना अघि सारेका छन् । वृद्ध आमा-बुबाहरूका लागि निःशुल्क स्वास्थ्य जाँच, भजनकीर्तन र तीर्थाटनका लागि विशेष योजना बनाइने उनले उल्लेख गरेका छन् ।

उम्मेदवार अग्रवालले विशेष गरी दलित, सीमान्तकृत र सुकुम्बासी जनताका लागि स्थायी बसोबासको व्यवस्था मिलाउन विशेष पहल गर्ने, वर्षौंदेखि समस्याको रूपमा रहेको सुकुम्बासी समस्यालाई कानुनी रूपमै समाधान गर्ने उनले उल्लेख गरेका छन् ।

विराटनगर जुट मिल्स, सुगर मिल लगायतका बन्द उद्योगहरूको जग्गालाई ‘विराट औद्योगिक क्षेत्र’ घोषणा गरी नयाँ उद्योगहरू स्थापना गर्ने, अवरुद्ध रहेको रानी-कटहरी रेलवेलाई शीघ्र सञ्चालनमा ल्याउन र रानी-रंगेली छोटो रुट रेलवे विस्तारका लागि पहल गर्ने उनको योजना छ ।

उनले विराटनगर र रंगेलीलाई प्रविधि क्षेत्रको केन्द्र बनाउने समेत उल्लेख गरेका छन् । किसानका लागि विशेष कृषि करिडोर निर्माण गर्ने, जहदा र धनपालथानलाई ‘बाली पकेट क्षेत्र’ घोषणा गरी डिप बोरिङ सिँचाइ र आधुनिक शीतभण्डारको व्यवस्था मिलाउने तथा बक्राहा, चिसाङ र लोहन्द्रा जस्ता खोलाहरूमा तटबन्ध निर्माण गरी बस्ती जोगाउने योजना उनले अघि सारेका छन् ।

रंगेली-विराटनगर दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखी रिङरोड र कृषि रोडको सञ्जाल विस्तार गर्ने, सबै खोलानालामा पुल र झोलुङ्गे पुल निर्माण गर्ने तथा प्रत्येक वडामा व्यवस्थित सामुदायिक भवन र खानेपानी टङ्की निर्माण गरिने उनले उल्लेख गरेका छन् ।

यस्तै उत्पीडित र गरिबका लागि निःशुल्क कानुनी परामर्श सेवा, लामो समयदेखि बसोबास गरेर पनि नागरिकता नपाएकाहरूको समस्या समाधान गर्न विशेष पहल गर्ने तथा स्थानीय तहबाट लगाइएका चर्का कर र शुल्कहरूलाई न्यूनीकरण गर्न पहल गर्ने उनले प्रतिबद्धता पत्रमा समावेश गरेका छन् ।

सबै धर्मका मठ-मन्दिर, मस्जिद, गुम्बा र चर्चहरूको स्तरोन्नति गर्ने, दाहसंस्कार स्थल आर्यघाट, कब्रिस्तान, गुम्बा आदिलाई व्यवस्थित बनाइने र पालिका स्तरमा सांस्कृतिक संग्रहालय निर्माण गर्ने लगायत उनका प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!