
विराटनगर । कोशी प्रदेशमा सवारी दुर्घटनाको ग्राफ ह्वात्तै बढेको छ । माघ महिनामा भएका कुल ५ सय ७९ वटा दुर्घटनामा ५४ जनाले ज्यान गुमाएका छन् । उक्त दुर्घटनामा ८ सय ७७ जना घाइते भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक सन्तोष श्रेष्ठका अनुसार सबैभन्दा बढी दुर्घटना चालकको लापरबाहीका कारण भएका छन् । जसमध्ये पनि तीव्र गतिका कारण सबैभन्दा धेरै २ सय २८ वटा सवारी दुर्घटना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
ट्राफिक नियम उल्लङ्घनका कारण २३, गलत ओभरटेकका कारण १२, मादक पदार्थ सेवनबाट ३२, चालकको अक्षमताका कारण ९९ र अन्य लापरबाहीका कारण ४२ वटा दुर्घटना भएका छन् । यस्तै सवारी साधनका कारण ३५, यात्रुका कारण ६२, सडकको अवस्थाका कारण ३९, मौसमका कारण ३ र पशुचौपायाका कारण ३ वटा दुर्घटना भएका श्रेष्ठले जानकारी दिए ।
उक्त अवधिमा ७ हजार ८ सय ४१ वटा सवारी साधनलाई कारबाही गर्दा ७९ लाख २७ हजार ५०१ रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सो अवधिमा १ हजार ४ सय ५१ पटक सचेतनामूलक कार्यक्रम गरिएको छ ।
कार्यालयका अनुसार पुस महिनामा सवारी दुर्घटनामा परेर ३७ जनाले ज्यान गुमाएका थिए । पुसको तुलनामा माघ महिनामा ज्यान गुमाउनेको संख्या १७ बढेको छ । मंसिर महिनामा सवारी दुर्घटनामा परेर ३२ जनाले ज्यान गुमाएका थिए । कोशी प्रदेशमा ३ महिनाको अवधिमा सवारी दुर्घटनामा परेर १ सय २३ जनाले ज्यान गुमाएका छन् ।

संगालोखबर 














