संगालोखबर


विराटनगर । नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार इरन कुमार राईले मोरङ क्षेत्र नम्बर ३ को समग्र विकासलाई मध्यनजर गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

पर्यटन, कृषि आधुनिकीकरण र आत्मनिर्भरतालाई केन्द्रमा राख्दै उनले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । उनले जिल्लाभित्र रहेका पर्यटकीय स्थलहरूको संरक्षण, प्रवर्द्धन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताए ।

बेलबारीस्थित बेतना सिमसार, सिसौली सिमसार, रमितेडाँडा, सुजना पार्क, पथरीको श्रीजंगा पार्क, भुल्के डाँस मोरङलगायत क्षेत्रलाई व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उनको योजना छ । साथै एसियन हाइवे आसपासका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी रोजगारी सिर्जना गर्ने उनले उल्लेख गरेका छन् ।

सहरी बजारहरूको सौन्दर्यीकरण, संस्कृति संरक्षण र स्थानीय उत्पादनको प्रवर्द्धनमार्फत पर्यटन आकर्षण बढाउने कार्यक्रम समेत उनले प्रतिबद्धता पत्रमा समेटेका छन् । कृषि क्षेत्रतर्फ उनले ‘कृषि नीति तथा राष्ट्रिय आत्मनिर्भरता’लाई मुख्य आधार बनाउँदै आधुनिक प्रविधि, अनुदान, सहुलियत ऋण र लगानी विस्तार गर्ने उल्लेख गरेका छन् ।

यस्तै उन्नत बीउ उत्पादन केन्द्र स्थापना, स्थानीय स्तरमै मलखाद तथा बीउबिजनको सहज उपलब्धता र कृषकका लागि तालिम तथा प्राविधिक सहयोग कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ ।

कृषकले उत्पादन गरेको वस्तुको उचित मूल्य र बजार सुनिश्चित गर्न ‘एक वडा-एक कृषि प्राविधिक’ कार्यक्रम सञ्चालन गर्ने तथा बिचौलियामुक्त बजार प्रणाली विकास गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

उम्मेदवार राईले कृषिलाई उपभोगमुखी मात्र नभई आयआर्जनमुखी र उत्पादनमुखी बनाउँदै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउने दाबी गरेका छन् । पर्यटन र कृषि क्षेत्रको समन्वित विकासबाट मोरङ-३ लाई आर्थिक रूपमा सबल, आत्मनिर्भर र समृद्ध क्षेत्र बनाउने लक्ष्य उनले अघि सारेका छन् ।

यस्तै उनले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण, समृद्ध नेपाल सुखी नेपाली’ नारासहित राजनीतिक स्थायित्व, संविधान कार्यान्वयन र सुशासनलाई मुख्य लक्ष्यका रूपमा अघि सारेका छन् । सार्वजनिक प्रतिबद्धता पत्रमा राईले संविधान संशोधनलाई प्राथमिक एजेन्डा बनाएका छन् ।

संघीयता कार्यान्वयनको एक दशकको अनुभवका आधारमा देखिएका कमजोरी सच्याउँदै नागरिकको सर्वाेपरी हित, आर्थिक मितव्ययिता र शासनको प्रभावकारितालाई केन्द्रमा राखेर संशोधनमा भूमिका खेल्ने उनको प्रतिबद्धता छ । उनले संविधानलाई व्यवहारमा अझ कार्यान्वयन र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!