
विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश स्तरीय ‘चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल’ प्रतियोगितामा आज भएका खेलमा युनाइटेड भेट्रान्स क्लब विराटनगर र हाम्रो इटहरी भेट्रान्स क्लब विजयी भएका छन् ।
विराटनगरस्थित जुटमिलको खेलमैदानमा भएको पहिलो खेलमा आयोजक सहरको युनाइटेड भेट्रान्स क्लबले पथरी शनिश्चरे भेट्रान्स क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइलनमा स्थान बनाएको हो ।
खेलको अन्तिम समयसम्म निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलको इन्जुरी समयमा विराटनगरका महेन्द्र खवासले फ्रि-किकमार्फत निर्णायक गोल गरे । उनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
आजै भएको दोस्रो खेलमा हाम्रो इटहरी भेट्रान्स क्लबले हाम्रो भेट्रान्स क्लब धरानलाई १-० गोलले पराजित गर्यो । खेलको १५ औँ मिनेटमा धरानका खेलाडी कुमार तामाङबाट आत्मघाती गोल भएपछि इटहरीको जित सहज बनेको थियो ।
डि-बक्सभित्र तामाङले आफ्नै गोलकिपरलाई बल दिन खोज्दा बलले सिधै जाली चुमेको थियो । प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेल मिल्स एरिया भेट्रान्स र एभरेष्ट भेट्रान्स जहदाबीच हुनेछ । यस्तै दोस्रो खेल मिल्स एरिया (रातो) र सुनसरी भेट्रान्सबीच हुने आयोजकले जनाएको छ ।

संगालोखबर 














