
विराटनगर । नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद ढकालले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । बुबाको निधनपछि कोरामा बसेकै अवस्थामा आज विराटनगर–५ सम्झना चोकस्थित निवासबाटै उनले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
विगत चार दशकदेखि यस क्षेत्रको राजनीति र सामाजिक सेवामा सक्रिय ढकालले विराटनगरको डुबान समस्या समाधानदेखि युवा स्वरोजगारसम्मका ३० बुँदे योजना अघि सारेका छन् ।
ढकालले विराटनगरको मुख्य समस्याको रूपमा रहेको ढल निकास र डुबानलाई उच्च प्राथमिकतामा राखेका छन् । उनले यसका लागि वैज्ञानिक गुरुयोजना बनाएर लागूगर्ने र चक्रपथसहितका प्रमुख सडकहरूलाई स्तरोन्नति गरी कालोपत्रे गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
त्यस्तै गछिया, बुढीखोला, केशलिया र सिङ्घिया नदी नियन्त्रणका लागि विशेष योजना ल्याइने घोषणा गरेका छन् । युवा र विद्यार्थीका लागि उनले नवीन कार्यक्रमहरू प्रस्ताव गरेका छन् ।
उच्च शिक्षाका विद्यार्थीका लागि ‘पढ्दै-कमाउँदै’ कार्यक्रम लागूगर्ने, गुणस्तरीय विद्यालय शिक्षाका लागि ‘स्मार्ट क्लास रुम’ को नीति, मदरसा र गुरुकुललाई आधुनिक शैक्षिक प्रणाली र विश्वविद्यालयसँग जोड्ने र युवा उद्यमीहरूका लागि बिना धितो ऋणको व्यवस्था गर्न पहल गर्ने लगायतका योजना उनको प्रतिवद्धता पत्रमा उल्लेख छ ।
बन्द र रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याई मजदुरको हितमा विशेष कार्यक्रम ल्याउने तथा साना तथा घरेलु उद्योगको प्रवद्र्धन गर्ने र सिटी रिक्सा चालकहरूका लागि सहुलियत दरमा चार्जिङ सुविधा उपलब्ध गराउने उनको प्रतिवद्धता छ ।
उम्मेदवार ढकालले यस क्षेत्रमा रहेका मठमन्दिर, मस्जिद, चर्च, गुम्बा र थारू समुदायको भाषा, संस्कृति तथा रीतिरिवाजको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । साथै पर्यटकीय क्षेत्रको विकासका लागि विभिन्न सिमसार र कोरिडोरहरूलाई हरियाली पार्क र व्यायामशालाको रूपमा विकास गर्ने उनको लक्ष्य छ ।
उनले पूर्व सांसद लालबाबु पण्डितको कार्यकालमा सुरु भएका अधुरा आयोजनाहरूलाई पूर्णता दिने संकल्प गरेका छन् । यसका साथै बूढी खोलामा पक्की पुल, विभिन्न स्थानमा झोलुङ्गे पुल र नहर किनारका सडकहरूको कालोपत्रे गर्ने कार्यलाई प्राथमिकता दिएका छन् ।
‘भ्रष्टाचार गरेर वा कामै नगरी तपाईंहरूको शिर झुकाउने काम म बाट हुनेछैन’, प्रतिबद्धता पत्रमा ढकालले भनेका छन् । ढकालले सुकुम्बासी समस्या समाधान, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता वृद्धि, र किसानका लागि समयमै मल तथा बिउको सुनिश्चितता गर्ने जस्ता कार्यक्रमहरूलाई आफ्नो एजेन्डा बनाएका छन् ।
प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा मोरङ-६ का चुनावी कमाण्डर एवं पूर्वमन्त्री लालबाबु पण्डित, एमाले केन्द्रीय सदस्यहरु ऋषिकेश पोखरेल, पर्शुराम बस्नेत, एमाले नेता गुरु बराल लगायतका नेता कार्यकर्ता उपस्थित थिए ।

संगालोखबर 














