
विराटनगर । मोरङको रंगेली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मिनील्यान्ड इङ्लिस स्कुलले जितेको छ । मिनील्याण्डले ३२ अङ्कका साथ पहिलो स्थान प्राप्त गरेको हो ।
यस्तै पब्लिक माध्यमिक विद्यालय २३ अङ्कका साथ दोस्रो हुँदा महालक्ष्मी माध्यमिक विद्यालय २१ अङ्क प्राप्त गर्दै तृतीय भएको छ ।

माघ २९ देखि फागुन २ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा २७ वटा सामुदायिक र १४ वटा संस्थागत विद्यालय सहभागी भएका थिए । प्रतियोगितामा करिब ४ सय विद्यार्थीहरू विभिन्न स्पर्धामा सहभागि भएका थिए ।
समापन कार्यक्रममा रंगेली नगरपालिकाका कार्यवाहक नगरप्रमुख भूमा पराजुलीले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन् । आगामी दिनमा अझ उत्कृष्ट खेल विद्यार्थीहरूले खेल्ने उनको विश्वास छ ।

नगरपालिकाका प्रशासकीय अधिकृत प्रदीप साहले अध्ययनका साथसाथै खेलकुद क्षेत्रलाई पनि विद्यार्थीहरूले उत्तिकै महत्वपूर्ण स्थान दिनुपर्ने सुझाव दिए । समापन कार्यक्रममा नगरपालिकाका शिक्षा अधिकृत लीलादेवी ओझा, शिक्षा समितिका सदस्य तथा वडा नम्बर ३ का वडाध्यक्ष भरतराज प्रसाईँ लगायतको उपस्थिति थियो ।
पालिका स्तरमा उत्कृष्ट हुने खेलाडीहरूले आगामी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् ।

संगालोखबर 














