संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेश सरकार स्थापनाको आठौँ वर्ष पूरा भएको छ । सो अवसरमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्थापनाको आठौँ वर्षमा प्रदेश सरकारले उल्लेख्य प्रगति गरेको बताएका छन् ।

आज कोशी प्रदेश सरकार स्थापना दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशमा उल्लेख्य काम भएपनि त्यसलाई नजरअन्दाज गरेर नकारात्मक प्रचार मात्र गरिएको बताए ।

मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा नेपालको संविधान २०७२ जारी भएपछि २०७४ साल मंसिरमा प्रदेश सभाको निर्वाचन सम्पन्न भई फागुन ३ गते गठन भएको कोशी प्रदेश सरकार आज नवौँ वर्षमा प्रवेश गरेको उल्लेख गरिएको छ ।

मुख्यमन्त्री कार्कीले सात दशक लामो सङ्घर्ष र ऐतिहासिक जनआन्दोलन २०६२/६३ को जगमा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार प्रदेश सरकार सञ्चालन हुँदै आएको र छोटो अवधिमै महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेका छन् ।

भौतिक पूर्वाधार निर्माणदेखि सामाजिक विकास र नागरिकको जीवनस्तर उकास्न प्रदेश सरकारले उल्लेखनीय प्रगति गरेको उनको दाबी छ । प्रदेश सरकारका कामलाई नजरअन्दाज गर्दै प्रदेश संरचनामाथि प्रहार हुने गरेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले वर्तमान परिस्थितिमा पारदर्शिता, जवाफदेहिता, जनमुखी सेवा र सुशासनलाई प्राथमिकता दिँदै प्रदेश सरकार अघि बढिरहेको बताए ।

प्रदेश सरकारले अनुभव अभिवृद्धि गर्दै आवश्यक कानुन निर्माण र कार्यान्वयनमा संघीय सरकारसँग सहकार्य, समन्वय र सहअस्तित्वलाई जोड दिएको उनको भनाइ छ । प्रदेश सरकारले केही गर्न सक्दैन भन्ने नकारात्मक प्रचारलाई चिर्दै लगानी सम्मेलन आयोजना गरेको उनले उल्लेख गरेका छन् ।

सम्मेलनमा करिब दुई खर्बको लगानी प्रतिबद्धता प्राप्त कार्यान्वयनका चरणमा जानु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ । पर्यटन वर्ष घोषणा तथा पदमार्ग निर्माणमार्फत पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास भइरहेको शुभकामना सन्देशमा उल्लेख छ ।

सडक सञ्जाल विस्तार र पुल निर्माणलाई प्राथमिकतामा राखिएको तथा कोरोना कालमा प्रभावकारी काम गर्दै जनताले अनुभूति गर्ने सरकारको रूपमा प्रदेश सरकारले भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारलाई देखिने, सुन्ने र अनुभूति गर्न सकिने सरकारका रूपमा विकास गर्दै जनताको सरकारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!