संगालोखबर

विराटनगर । विराटनगर-१८ वर्माटोलमा अवस्थित मिल्स माध्यमिक विद्यालयले ७५ औं वार्षिकोत्सव तथा हीरक जयन्ती मनाउने भएको छ । आजदेखि फागुन ८ गते सम्म साताव्यापी कार्यक्रम गरेर विद्यालयले हीरक जयन्ती मनाउन लागेको हो ।

आज देखि ४ गते सम्म खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने विद्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यस्तै फागुन ५ गते बिहान मिल्सएरियाका विभिन्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीको ३ किलोमिटर सडक दौड र ५ गते बिहान ३ किलोमिटर सडक दौड आयोजना गरिएको छ ।

६ गते रेडक्रस सोसाइटी विराटनगर शाखाको प्राविधिक सहयोगमा वृहत रक्तदान कार्यक्रम, ७ गते पूर्व विद्यार्थीहरूको पुनर्मिलन तथा संवाद कार्यक्रम, सोही दिन विद्यालयको ऐतिहासिक डकुमेन्ट्री सार्वजनिक र दिउँसो पहिलो चरणमा संवाद कार्यक्रम तथा दोस्रो चरणमा मनोरञ्जन र प्रतिभा प्रदर्शन कार्यक्रम गरिने विद्यालयले जनाएको छ ।

फागुन ८ गते अन्तिम दिन २००९ सालदेखि मिल्स माविमा पढाउनु भएकी पूर्वशिक्षक ९४ वर्षीया मणिकला गुरुआमालाई रथ यात्रा मार्फत वर्माटोल, प्रहरी तालिम केन्द्र, झमेली चोक, बैंक रोड, भट्टीमोड, वडा कार्यालय हुँदै विद्यालय वरिपरि परिक्रमा गरेर स्टेजमा आसनग्रहण गराउने कार्यक्रम छ ।

यस्तै विद्यालयकै विद्यार्थीहरूबाट निर्मित रोबोटद्वारा स्वागत तथा सम्मान गर्ने र विद्यार्थी निर्मित ड्रोनबाट कार्यक्रमको भिडियो रेकर्ड गर्ने, हीरक जयन्ती स्मारिका विशेष अंक मणिकला गुरुआमाबाट विमोचन गर्ने कार्यक्रम तय भएको प्रधानाध्यापक बिन्दुकुमार लावतीले जानकारी दिए ।

विद्यालयको आफ्नै आम्दानीको श्रोत नभएको अवस्थामा पूर्वविद्यार्थी र पूर्व शिक्षकहरूले महत्वपूर्ण सहयोग गरेको प्रअ लावतीले बताए ।

उनका अनुसार हीरक जयन्तीका लागि पूर्व विद्यार्थीबाट ६ लाख ४५ हजार संकलन भइसकेको छ । हीरक जयन्तीका लागि एसएलसी ब्याच २०३९ समूहले ३ लाख ४ हजार ५२८, २०३८ समूहले २ लाख २६ हजार ३६५ र २०४६ समूहबाट ७३ हजार ६५० संकलन भएको छ ।

अन्य ब्याजका पूर्वविद्यार्थी र पूर्वशिक्षकहरूबाट पनि सहयोग संकलन भइरहेको उनको भनाइ छ । पूर्वविद्यार्थीले आर्थिक सहयोगसँगै एसएलसी ब्याच २०३१ समूहले १ लाख ५५ हजार रुपैयाँको एउटा स्मार्ट बोर्ड, स्वर्गीय रघुवीर देवानको स्मृतिमा अक्षयकोष स्थापनाका लागि ५० हजार र मिल्स मावि रात्रीका पूर्व विद्यार्थी स्वर्गीय गणेश देवानको स्मृतिमा परिवारले २० हजार उपलब्ध भएको प्रधानाध्यापक लावतीले बताए ।

स्कुलको हीरक जयन्तीका लागि पूर्वविद्यार्थीको सक्रियतामा आर्थिक संकलन गरिएको हीरक जयन्ती समारोहका संयोजक राजेश सुब्बाले बताए । हीरक जयन्तीको अवसरमा विद्यालयले विभिन्न छात्रवृत्तिहरू लगायतका कोषबाट ४४ जनालाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ ।

रवर्टशन शाक्य जेहनदार छात्रवृत्ति जनही १ हजार ८ सयका दरले १० जना, विनायक छात्रवृत्ति जनही १ हजार ५ सयका दरले ४ जना, बाबा बिनु उत्कृष्ट छात्रवृत्ति जनही १० हजारका दरले २ जना, भिमप्रसाद दाहाल छात्रवृत्ति जनही ५ हजार ५५५ का दरले २ जना र रामेश्वरलाल शान्तादेवी राठी जेहनदार छात्रवृत्ति जनही ५ हजार ५ सयका दरले २ जनालाई अक्षयकोष छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।

अनुशासित एवं सबैभन्दा बढी हाजिर र उपस्थित हुने ४ जना विद्यार्थीलाई पुरस्कृत गरिने, बालबालिकाको पढाइ लेखाइ सम्बन्धी सबै भन्दा बढी चासो राखेर विद्यालयमा सम्पर्क गर्ने ४ जना अभिभावकलाई सम्मान गरिने, दीर्घ सेवा गरेका शिक्षक एक र कर्मचारी एक जनालाई सम्मान गर्ने प्रअ लावतीले बताए ।

यस्तै एसईईमा शतप्रतिशत रिजल्ट हासिल गर्न सफल शिक्षक ३ र एसएलसीमा शतप्रतिशत नतिजा हासिल गर्न सफल १० जना शिक्षकलाई सम्मान तथा पुरस्कृत गरिने उनको भनाइ छ ।

एक शिक्षकलाई उत्कृष्ट वर्ष शिक्षकका रूपमा पिता स्वर्गीय योगप्रसाद उपाध्यायको स्मृतिमा पूर्व विद्यार्थी प्रकाश दाहाल र परिवारबाट स्थापित पुरस्कार ११ हजार १ सयसहित सम्मान गरिने छ । मिल्स माविमा अहिले १ हजार २४२ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले नेपाली तथा अंग्रेजी माध्यममा पठन-पाठन गर्दै आएको छ । २०८० सालबाट अंग्रेजी माध्यमको पठन-पाठन सुरु गरेको विद्यालयले आगामी शैक्षिक सत्रदेखि सबै कक्षामा अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने तयारी गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!