
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ४ का नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उम्मेदवार घिमिरेले भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन र रोजगारीलाई मुख्य प्राथमिकतामा राख्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
घिमिरेको प्रतिबद्धता पत्रमा विराटनगरलाई आईटी हबको रूपमा विकास गरी युवाहरूका लागि स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उल्लेख छ । यस्तै रोजगार बैंकको अवधारणा कार्यान्वयन गर्ने र श्रम बजारको माग अनुसार युवाहरूलाई प्राविधिक सीपमूलक तालिम प्रदान गर्ने योजना उनले अघि सारेका छन् ।
उनले लामो समयदेखि अधुरो रहेको विराटनगर रिङरोडको निर्माण कार्य सम्पन्न गर्ने कुरालाई प्राथमिकतामा राखेका छन् ।
यस्तै कटहरीमा रेलवे स्टेसन निर्माण गरी भारतको बथनाहादेखि कटहरीसम्म रेल सेवा सञ्चालन गर्ने, नयाँ बजार-भौडाहा-थलाहा-मोतीपुर हुँदै बेलबारी जाने बाटो निर्माण गर्ने, नेताचोक, कसेनी हुँदै केरौन जाने नहरको बाटो कालोपत्रे गर्ने र बेलबारी वडा नम्बर ५ र ६ जोड्ने झोलुङ्गे पुल निर्माण गर्ने उनले प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने दाबी गर्दै उनले बेलबारी, ग्रामथान र कटहरी गाउँपालिकामा १०० बेडको अस्पताल स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले कटौती गरेको स्वास्थ्य बीमाको सीमालाई पुनः १ लाख कायम गराउने र कोशी कोभिड अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने उनको योजना छ ।
यस्तै किसानहरूका लागि मलखाद र बीउबिजनको सहज उपलब्धताको ग्यारेन्टी गर्दै घिमिरेले मोरङ, सुनसरी र झापाको गौरवको रूपमा रहेको तमोर-चिसाङ डाइभर्सन परियोजना अघि बढाउने उल्लेख गरेका छन् ।
ग्रामथानको झोराहाटमा कोल्ड स्टोर स्थापना गर्ने, कटहरी तथा ग्रामथान र बेलबारीलाई ‘तरकारी पकेट क्षेत्र’ घोषणा गरी बजार व्यवस्थापन गर्ने उनले प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।
थारू, सतार, मुसहर, झागड, बातर र मुस्लिम लगायतका सीमान्तकृत समुदायको भाषा र संस्कृतिको संरक्षण गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ । ग्रामथानमा सडियो धामीको नाममा थारू संग्रहालय र होमस्टे निर्माण गर्ने तथा धनपालथान, बालुघाट र बजरंगबलीलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने उनको लक्ष्य छ ।
यस्तै ‘जनता आवास कार्यक्रम’ मार्फत घरबारविहीनहरूलाई बसोबासको प्रबन्ध गर्ने र अव्यवस्थित बसोवासी एवं सुकुम्बासी समस्या समाधानका लागि जग्गा धनीपुर्जा वितरण गर्न पहल गर्ने घिमिरेले प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी नीति निर्माण, बाढी निकासको उचित प्रबन्ध र सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने कुरामा पनि उनले जोड दिएका छन् । सो अवसरमा उनले विगतमा गरेका कामहरू सार्वजनिक गर्दै आफूले आश्वासन मात्रै नबाढ्ने उल्लेख गरे ।

संगालोखबर 














