
विराटनगर । मोरङमा ‘सुरक्षित चालक’ अभियानअन्तर्गत पाँच सय सिटी सफारी चालकलाई ज्याकेट वितरण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आज एक कार्यक्रमको आयोजना गर्दै सिटी सफारी चालहरूलाई ‘सुरक्षित चालक’ लेखिएको ज्याकेट वितरण गरेको हो ।
विराटनगर महानगरपालिका भित्र सञ्चालित सिटी सफारीलाई सुरक्षित तथा चालकलाई अनुशासित, जिम्मेवार र मर्यादित बनाउन अभियानको शुभारम्भ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सिटी सफारीको संख्या धेरै र चालकको लापरबाहीका कारण दुर्घटना बढ्दै गएपछि यसको व्यवस्थापनका लागि लामो समयदेखि आवाज उठ्दै आएको थियो । यो अभियानसँगै सफारी चालक अनुशासित हुने अपेक्षा गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी विनोद घिमिरे, कोशी प्रदेश ट्राफिक प्रमुख एसपी दीपक गिरी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कविता कटवालले चालकहरूलाई ज्याकेट हस्तान्तरण गरेका छन् ।
डिआइजी घिमिरेले दुर्घटना न्यूनिकरणका लागि यो अभियान उपयुक्त हुने भन्दै प्रदेशका अन्य जिल्लामा पनि शुरु गरिने उल्लेख गरे । यो अभियान नमूना बन्नेमा उनले विश्वास व्यक्त गरे । ट्राफिक प्रहरीले यो अभियानलाई पूर्ण कार्यान्वयन गराउने प्रतिवद्धता जनाएको छ ।
मोरङका ट्राफिक प्रमुख सन्तोष न्यौपानेले विराटनगरमा चल्ने प्रत्येक सफारी चालक ट्राफिक प्रहरीको कम्प्युटर प्रणालीमा अनिवार्य दर्ता हुनुपर्ने बताए । नेपालमै पहिलोपटक सुरु गरिएको यस डिजिटल अभिलेख प्रक्रियापछि चालकले एउटा विशिष्ट दर्ता नम्बर प्राप्त गर्नेछन् । सोही नम्बर ‘सुरक्षित चालक’ लेखिएको ज्याकेटको पछाडि स्पष्ट देखिने गरी छापिएको छ ।
ज्याकेटमा रहेको दर्ता नम्बरकै आधारमा चालकको सम्पूर्ण पहिचान खुल्ने इन्स्पेक्टर न्यौपानेको भनाइ छ । दर्ता हुनुअघि चालकले अनिवार्य ट्राफिक नियम र सुरक्षासम्बन्धी अनुशिक्षण तालिम लिनुपर्ने व्यवस्था गरिएको छ ।
सफारी चालकले लिखित परीक्षा दिनु नपर्ने र प्रयोगात्मक परीक्षा पास गरे पुग्ने व्यवस्था गरिएको छ । ट्राफिक प्रहरीले माघ महिनादेखि लाइसेन्स, ब्लुबुक र सुरक्षित चालकको पोसाकबिना सफारी चलाउन पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

संगालोखबर 














