संगालोखबर


विराटनगर । ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ ।

उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै आइतबार राति भएको फैसलाअनुसार गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैद सजाय सुनाएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले माघ २० गतेदेखि नियमित सुनुवाइपछि आइतबार फैसला सुनाएको हो । यसअघि जिल्ला अदालतले गोरेलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको थियो ।

नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको पुनरावेदनमा सुनुवाइ गर्दै अदालतले १०–१० वर्ष मात्रै कैद सजाय तोकेको छ । यसअघि उनीहरूलाई जिल्ला अदालतले २० वर्ष कैद (जन्मकैद) सुनाएको थियो ।

कर्तव्य ज्यान मुद्दामा मतियारका रूपमा संलग्न देखिएका मदन सिलवालको हकमा जिल्लाको फैसला उल्ट्याउँदै उच्च अदालतले ३ वर्ष कैद सजाय सुनाएको छ । लाक्पा शेर्पा र भविन तामाङको पुनरावेदन भने अदालतले खारेज गरिदिएको छ । जसका कारण उनीहरूको हकमा जिल्लाकै फैसला सदर भएको छ ।

अदालतले करिब ३८ क्विन्टल सुन तस्करीसँग जोडिएको संगठित अपराध र भन्सार चोरी निकासीको मुद्दामा भने सबै प्रतिवादीको हकमा दाबी नपुग्ने ठहर गरेको छ ।

यसअघि पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपी सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायतका उच्च प्रहरी अधिकारीहरूले सफाइ पाएका थिए ।

जिल्ला अदालतले पनि यी मुद्दामा पूर्वप्रहरी अधिकारी र व्यापारीसहित अधिकांशलाई सफाइ दिएको थियो । उच्च अदालतले सोही फैसलालाई सदर गरिदिएको छ ।

२०७४ साल माघ ९ गते दुबईबाट तस्करी गरी ल्याइएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब भएको थियो । सोही सुन खोज्ने क्रममा गोरेको समूहले २०७४ फागुन १८ गते उर्लाबारी-१ मा सनम शाक्यलाई करेन्ट लगाएर यातना दिँदै हत्या गरेको थियो । ३३ किलो सुन भने हालसम्म फेला परेको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!