संगालोखबर


विराटनगर । मोरङको रंगेली नगरपालिकाले पालिका अन्तर्गतका १२ वटा सामुदायिक र चारवटा संस्थागत माध्यमिक विद्यालयका बाल क्लबमा आबद्ध बालबालिकाहरूलाई लक्षित एक घण्टा पाँच मिनेटको डकुमेन्ट्री प्रदर्शन गरेको छ ।

बालविवाह, बालश्रमिक, बाल मनोविज्ञान, लागूपदार्थको कुलत, बाल अधिकार, बाल हकहित, बाल संरक्षण लगायतका विषय समेटिएको ‘ज्योति’ नामको डकुमेन्ट्री प्रदर्शन गरेको हो ।

कार्यक्रमको उद्‌घाटन गर्दै कार्यवाहक नगर प्रमुख भुमा पराजुलीले रंगेली नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन सबै  एकजुट हुनुपर्ने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले रंगेली नगरपालिका भित्र अध्ययनरत बालबालिकाहरूको सहयोग र मेहनत तथा नगरपालिकाको समन्वयमा बालबालिकाको हक, अधिकार संरक्षण गर्न नगरपालिका तयार रहेको बताए । शिक्षा अधिकृत लीलादेवी ओझाले  बाल अधिकार, बाल संरक्षण र बालमैत्री समाज आजको आवश्यकता भएको बताइन् ।

कार्यक्रममा त्रिभुवन माध्यमिक विद्यालय गोहिगाडा रंगेलीका विद्यार्थी पवित्रा प्रधान र माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलका आर्यन राजवंशीले बालमैत्री नगरपालिका बनाउनका लागि आवश्यक सबै सूचकहरू पूरा गरिदिन पालिकालाई अनुरोध गरे ।

बालमैत्री स्थानीय तह घोषणा कार्यविधिमा ५१ वटा सूचक पूरा हुनुपर्ने विधि छ । आर्थिक वर्ष २०८२/८३  सम्म २८ वटा स्थानीय तह बालमैत्री घोषणा भइसकेका छन् । सन् २०३० सम्ममा ७५३ वटै स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने सरकारको लक्ष्य छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!