
विराटनगर । मोरङमा आमाको नामबाट नागरिकता वितरण सुरु गरिएको छ । नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनमा भएको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी र आमा नेपाली भएका व्यक्तिलाई आमाको नामबाट अङ्गीकृत नागरिकता प्रदान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार माघ ७ गते बुधबारदेखि नयाँ कानुनी प्रावधान अनुसार अङ्गीकृत र वंशजको पनि नागरिकता वितरण भएको छ । पहिलो पटक आमाको नामबाट नागरिकता वितरण सुरु गरिएकोमा अहिलेसम्म ४० जनाले नागरिकता प्राप्त गरेका प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार नागरिकता प्रदान गर्दा कानुनअनुसार आवश्यक कागजातहरूको सूक्ष्म जाँच तथा निगरानीका साथ प्रक्रिया अघि बढाइएको छ । पहिलो पटक सेवा प्रारम्भ भएकाले सेवाग्राहीको चाप बढेको छ । त्यसलाई व्यवस्थापन गर्न टोकन प्रणालीमार्फत सेवा प्रवाह भइरहेको जनाइएको छ ।

संगालोखबर 














