
धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कोशी प्रदेशका १४ वटै जिल्लामा नेपाली सेनाको गस्ती सुरु भएको छ ।
नेपाली सेना पूर्वी पृतना हेडक्वार्टर इटहरीका अनुसार ‘एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२’ अनुरूप गस्ती सुरु भएको हो । निर्वाचन सामग्रीहरूको सुरक्षा, सम्भावित जोखिम न्यूनिकरण गर्ने लगायतका उद्देश्यसहित सेना परिचालन गरिएको हो ।

निर्वाचन आउनु महिना दिन अगावै सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजना अनुरूप फिल्डमा निक्लिएको सेनाले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन भूमिका खेल्ने बताइएको छ ।
यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागार लगायत महत्वपूर्ण तथा संवेदनशील क्षेत्रको सुरक्षा जिम्मेवारी लिइने सेनाले जनाएको छ । निर्वाचनको दौरानमा शान्ति सुव्यवस्था कायम राख्न सेनाले सबै सुरक्षा निकायहरूलाई सहयोग सर्वसाधारणलाई आग्रह गरेको छ ।

संगालोखबर 














